Logo
Logo

संसार सुतेको बेला मनमा शब्दहरु जाग्छन्


अमृता स्मृति, कवि

315
Shares

नेपाली साहित्यमा कवि अमृता स्मृतिले दर्जनौँ कविता कोरिसकेकी छिन् । उनका कविताले देशमा मात्र होइन, विदेशमा पनि प्रभाव पारेको छ । थुप्रै साहित्यिक पुरस्कारबाट उनी सम्मानित भइसकेकी छिन् । युनेस्को र विइन्सपायरको समता राष्ट्रिय खुला कविता प्रतियोगितामा प्रथम, नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा तृत्तीया (२०७४), नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा दोस्रो (२०७७) र महामण्डल साहित्य सम्मान (२०७९) उनले प्राप्त गरेकी छिन् । कवि अमृता लामो समयको अमेरिका बसाईपछि अहिले नेपाल फर्किएकी छिन् । यही मौका पारेर उनै साहित्यकार कवि अमृता स्मृतिसँग रेजिना पाण्डेको जम्काभेट ।

लेखनमा कतिको व्यस्त हुनुहुन्छ ?

लेखन एउटा अभिन्न अंगजस्तै भएको छ । तर यसलाई म ‘व्यस्तता’को रूपमा अनुभव गर्दिनँ । मानसिक रूपमा म सधैं लेखनको उर्जासँग जोडिएको हुन्छु । कहिलेकाहीँ महिनाँैसम्म एउटै कविताको फेर समात्दै दौडिन्छु, ती दिनहरूमा व्यस्तताभन्दा पनि एकाग्रता बढी हुन्छ ।

एउटा पुस्तक लेख्न कति समय लाग्छ ?

कहिलेकाहीँ एउटा कविता परिपक्व हुन वर्ष दिन लाग्नसक्छ, कहिले संग्र्रह नै एक वर्षमा तयार हुनसक्छ । एउटा पुस्तक पुरा गर्न यति नै समय लाग्छ भन्ने निश्चित हुँदैन ।

प्रायः कुन समय लेख्न रुचाउनु हुन्छ ?

लेखन कुनै निश्चित समयतालिकामा बाँधिएको हुँदैन । दिउँसोको एकान्त पनि प्रिय लाग्छ, तर प्रायः मध्यरातको मौनतामा लेख्ने गर्छु । जब संसार सुतेको हुन्छ, शब्दहरू जाग्छन् । त्यतिबेला चेतनाको तहदेखि अचेतनको गहिराइसम्मको यात्रा सहज हुन्छ ।

कविता लेख्न कतिको गाह्रो छ ?

एउटा सुन्दर कविताका लागि लामो साधना, तपस्या चाहिन्छ । कविता लेख्न सजिलो पनि छैन र गाह्रो पनि छैन । घटना, विषयवस्तु र भावनाहरूले जब छुन्छ, तब शब्द आफैँ आउँछन् ।

कविता लेख्न तपाईँलाई के कुराले प्रभाव पार्छ ?

कविता आफू बाँचेको समय, घटना, प्रकृति, मानवीय सम्बन्ध र जीवनका आरोह÷अवरोहहरूमा गरिने अनुभूति, भोगाइहरूबाट कविता जन्मिन्छ । पाब्लोका अनुसार, ‘कवि आफ्नो समयको कथावाचक हो ।’ म पनि आफ्नो समयको कथा बोल्ने प्रयासमा छु ।

लेख्नमा प्रभाव पार्ने व्यक्ति को हो ?

सिर्जना मन परेपछि कविको जन्म र मृत्यु हेर्ने मेरो बानी थियो । मृत्यु मिति नलेखिएका कविहरूलाई भेट्ने मोह, विमर्श गर्ने मोह पलाउँथ्यो । कतिलाई त भेटेँ पनि । केही कविताहरूले खुब प्रभाव पारे । म उहाँहरू जस्तो लेख्न चाहन्थेँ । रिमालको ‘आमा’, शेरचनको ‘शहिदहरूप्रति’, वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण’ र दिनेश अधिकारीको ‘हर्कबहादुर’हरू जति पढेपनि अघाइएन ।

‘म किन लेख्छु’ भनेर कहिल्यै प्रश्न गर्नुहुन्छ ?

अवश्य प्रश्न गर्छु र उत्तर भेट्छु । मलाई लाग्छ, सिर्जना नै जीवन हो । म हुनु वा मेरो अस्तित्व भनेकै मेरा सिर्जना हुन् ।

लेखेर के पाउनुभयो ?

कुनै पुस्तक पढेर रन्थनिनुको मजा एउटा पाठकलाई मात्र थाहा हुन्छ । कुनै कविता या अन्य साहित्य सिर्जना लेखेर मोक्ष प्राप्ति भएको अनुभव एउटा राम्रो लेखकले गर्न सक्छ । यही अनुभूति पाएँ मैले ।

तपाईँलाई पढ्न सजिलो कि लेख्न ?

आहा ! मनपर्ने पुस्तक पढ्न पाउँदा हृदय कति प्रफुल्लित हुन्छ । आफूले नसुनेका, नभोगेका र नदेखेका स्थानहरू पुस्तकबाटै देख्न, सिक्न, जान्न पाइन्छ । सबै कुरा भोग्न त कहाँ सम्भव हुन्छ र !

तपाई कस्ता किताब पढ्न रुचाउनु हुन्छ ?

मलाई मानवीय संवेदनाका कथा, समाज र प्रकृतिको सौन्दर्य उत्सवलाई छोएर लेखिएका पुस्तकहरू मन पर्छन् ।

नेपालबाहिर बसेर आउनुभयो, नेपाली साहित्यको प्रभाव त्यहाँ कस्तो छ ?

नेपाली साहित्य नेपालबाहिर पनि उत्तिकै जीवन्त छ । देश बाहिर रहेका नेपालीहरूले आफ्नो मातृभाषा, संस्कृति र पहिचान जोगाउन साहित्यलाई माध्यम बनाएका छन् । विदेशमा नेपाली साहित्यका पुस्तकालय, पाठन समूह, र काव्य गोष्ठीहरूले नेपालीपनलाई जीवित राखेको छ । नयाँ पुस्तामा यसको पहुँच विस्तार गर्न भने अझै चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्