Logo
Logo

दुईदिने भ्रमणका लागि बेइजिङ पुगे पुटिन


0
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने चीन भ्रमणका लागि मङ्गलवार राति बेइजिङ पुगेका छन् । बेइजिङ विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीले उनको स्वागत गरेका थिए ।

भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता मात्रै बेइजिङ भ्रमण गरेको केही दिनपछि पुटिन चीन पुगेका हुन् ।

चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र जिनपिङबीच रुस–चीन सम्बन्ध, व्यापार, रणनीतिक सहकार्य तथा विश्वको वर्तमान अवस्थाबारे विस्तृत छलफल हुनेछ । पुटिनले चिनियाँ प्रधानमन्त्री ली छियाङसँग पनि भेट गर्न सक्ने बताइएको छ ।

चीन प्रस्थानअघि सार्वजनिक गरिएको भिडियो सन्देशमा पुटिनले रुस र चीनबीचको सम्बन्ध अहिलेसम्मकै उच्च स्तरमा पुगेको बताएका छन् । उनले दुई देशबीच विश्वास, आपसी समझदारी र समान सहकार्यको सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

पुटिनका अनुसार दुवै देशले सार्वभौमिकता र राष्ट्रिय एकताजस्ता विषयमा एकअर्कालाई समर्थन गर्दै आएका छन् । उनले राजनीति, अर्थतन्त्र र ऊर्जासहित विभिन्न क्षेत्रमा रुस र चीनबीच सहकार्य तीव्र रूपमा विस्तार भइरहेको बताएका छन् ।

विशेषज्ञहरूले ट्रम्पपछि पुटिनको चीन भ्रमणलाई विश्व राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरेका छन् । उनीहरूका अनुसार लगातार भइरहेका उच्चस्तरीय भ्रमणले चीनले अमेरिका र रुस दुवैसँग सम्बन्ध सन्तुलित राख्ने प्रयास गरिरहेको देखाउँछ । विशेषगरी युक्रेन र इरानसँग सम्बन्धित विश्वव्यापी तनावका बीच चीनले आफ्नो भूमिका थप प्रभावशाली बनाउन खोजेको विश्लेषण गरिएको छ ।

पुटिन र जिनपिङबीच अहिलेसम्म ४० भन्दा बढी भेटवार्ता भइसकेको छ । विश्वकै बलियो राजनीतिक साझेदारीमध्ये एक मानिने उनीहरूको सम्बन्ध सन् २०१३ देखि अझ नजिकिएको हो । राष्ट्रपति बनेपछि जिनपिङ पहिलो विदेश भ्रमणका रूपमा रुस गएका थिए भने पुटिनले पनि चीनलाई आफ्ना प्राथमिक विदेश भ्रमणमा समावेश गर्दै आएका छन् ।

दुवै नेताले सार्वजनिक रूपमा एकअर्कालाई नजिकका मित्र र रणनीतिक साझेदारका रूपमा वर्णन गर्दै आएका छन् । क्रेमलिनका अनुसार उनीहरूबीच औपचारिक कूटनीतिक सम्बन्ध मात्र नभई नियमित निजी संवाद समेत हुँदै आएको छ ।

सन् २०२६ फेब्रुअरीमा भएको भिडियो बैठकमा जिनपिङले पुटिनलाई चीन भ्रमणको निम्तो दिएका थिए, जसलाई पुटिनले तत्काल स्वीकार गरेका थिए ।

रुस र चीन प्रायः ब्रिक्स, सांघाई सहयोग संगठन तथा एसिया–प्रशान्त क्षेत्रीय मञ्चहरूमा एकसाथ देखिने गरेका छन् । अमेरिका र पश्चिमा मुलुकहरूको प्रभावको विकल्पस्वरूप दुवै देशले बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

अमेरिकी प्रभावप्रतिको साझा चिन्ताका कारण पछिल्ला वर्षहरूमा चीन र रूसबीच रक्षा, विदेश नीति, कानुन व्यवस्था तथा आर्थिक विकासका विषयमा उच्चस्तरीय सहकार्य उल्लेखनीय रूपमा बढेको छ ।

युक्रेन युद्ध सुरु भएपछि दुई देशबीचको व्यापार पनि तीव्र गतिमा विस्तार भएको छ । चीनले रुसबाट तेल, कोइला र ग्यासको खरिद बढाएको छ भने रूसमा चिनियाँ गाडी, विद्युतीय सामग्री र अन्य वस्तुको निर्यात उल्लेखनीय रूपमा बढेको छ ।

आधिकारिक तथ्यांकअनुसार गत वर्ष रुस र चीनबीचको व्यापार २२८ अर्ब १० करोड अमेरिकी डलर पुगेको थियो । यसमध्ये रुसले २१ अर्ब ४९ करोड डलर व्यापार बचत हासिल गरेको थियो, जुन सन् २०२४ को तुलनामा ५५ प्रतिशत बढी हो ।

यद्यपि पश्चिमा मुलुकहरूले चीनमाथि युक्रेन युद्धका क्रममा रुसलाई आर्थिक सहयोग पुर्‍याएको आरोप लगाउँदै आएका छन् ।

पुटिन र जिनपिङबीचको भेटमा ुपावर अफ साइबेरिया–२ु ग्यास पाइपलाइन परियोजनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । रुसले लामो समयदेखि यस परियोजनालाई अघि बढाउने प्रयास गर्दै आएको छ ।

यो परियोजनाअन्तर्गत रूसको यामाल प्रायद्वीपबाट मंगोलियामार्फत उत्तरी चीनसम्म वार्षिक करिब ५० अर्ब घनमिटर प्राकृतिक ग्यास आपूर्ति गर्ने योजना रहेको छ । उक्त परिमाणको ग्यासले १५ देखि २० करोड घरधुरीको एक वर्षको आवश्यकता पूरा गर्न सक्ने अनुमान गरिएको छ ।

रुस र चीनबीच ‘पावर अफ साइबेरिया–१’ नामक अर्को ग्यास पाइपलाइन यसअघि नै सञ्चालनमा आइसकेको छ । सन् २०१९ डिसेम्बरमा सुरु भएको उक्त पाइपलाइनले रूसको पूर्वी क्षेत्रबाट चीनमा ग्यास आपूर्ति गर्दै आएको छ । नयाँ परियोजनाले भने रूसको पश्चिमी भागबाट ग्यास ल्याउनेछ ।

उता अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावले विश्व ऊर्जा बजारमा पनि असर देखिन थालेको छ । होर्मुज जलडमरूमध्य लगभग बन्द हुने अवस्था बनेपछि तेल आपूर्तिप्रति चिन्ता बढेको छ । यसले विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत गहिरिएको विश्लेषण गरिएको छ ।

विशेषज्ञहरूका अनुसार तेल र ग्यासको मूल्य बढ्दा रुसलाई केही आर्थिक फाइदा पुगेको छ, किनकि रुस विश्वकै ठूलो तेल तथा प्राकृतिक ग्यास भण्डार भएका देशमध्ये एक हो । तर युक्रेन युद्धका कारण रुस अहिले पनि अमेरिका र युरोपेली मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । ती प्रतिबन्धको असर रुसी अर्थतन्त्रमा निरन्तर देखिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्