Logo
Logo

ओली अहंकारको अवसान ?


567
Shares

राजनीतिमा अहंकार र शक्तिको उन्माद कति महँगो पर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन– एमालेका अध्यक्ष केपी शर्मा ओली । हिजो २८ लाख मतको विरासत बोकेको विशाल पार्टीलाई खुम्च्याएर १५ लाखमा झार्ने र २५ सिटमा खुच्याउने मुख्य पात्र अरू कोही नभएर स्वयं ओली नै हुन् । जेन–जी आन्दोलनमाथिको निर्मम दमन र चुनावीमा लज्जास्पद पराजयले उनलाई यतिबेला इतिहासकै सबैभन्दा कमजोर पात्र बनाएको छ । एकातिर कानुनी फन्दा, अर्कोतिर पार्टीभित्रै विष्फोट हुन लागेको विद्रोह, के यो ओली युगको अन्त्यको सुरुवात हो ?

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला प्रहरी हिरासतमा छन् । एकातिर ओलीमाथि राज्यको कानुनी छानबिन चलिरहेको छ भने अर्कोतिर उनलाई एमालेको नेतृत्वबाटै विस्थापित गर्ने प्रयास सुरु भएको छ । जुन वज्रपातपूर्ण र अपमानजनक परिस्थिति ओली आफैँले निम्त्याएका हुन् ।

गत पुस ३ गते सम्पन्न ११औँ महाधिवेशनबाट ओली भारी मतका साथ तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । तर पार्टीको लागि भने त्यो महँगो साबित भयो । ओलीको विजयोत्सवको चमक तीन महिना पनि टिक्न सकेन । गत फागुन २१ को निर्वाचन परिणामले एमालेलाई अंकगणितीय रूपमा मात्र पराजित गरेन, ओलीको दम्भलाई रसातलमा पु¥याइदियो ।

एमाले र ओलीको पतनको मुख्य कारण जेन–जी आन्दोलनमा युवाहरूमाथि गरिएको निर्मम दमन नै हो । प्रविधिको युगमा हुर्किएको नयाँ पुस्ताको भावनालाई राज्यशक्तिमार्फत दबाउन खोज्नु ओलीका लागि प्रत्युत्पादक मात्र होइन, आत्मघाती सिद्ध भयो । यसको प्रत्यक्ष प्रभाव गत फागुन २१ को निर्वाचनमा देखियो । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको एमाले यसपटक झन्डै आधाले घटेर १४ लाख ५५ हजार ८ सय ८५ मतमा खुम्चियो । प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी पार्टी जम्मा २५ सिटमा खुम्चियो । स्वयं अध्यक्ष ओली रास्वपाका वरिष्ठ नेता बालेन साहसँग लज्जास्पद पराजित भए । पार्टीको यो ऐतिहासिक हार र ओली स्वयं झन्डै ५० हजार मतान्तरले पछारिएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको थियो । विडम्बना, उनले त्यस्तो राजनीतिक नैतिकता प्रदर्शन गरेनन् । बरु उल्टै कमजोरी औँल्याउने र सुझाव दिनेहरूमाथि नै हप्कीदप्की र थर्काउने पुरानै शैलीलाई निरन्तरता दिइरहे ।

त्यसैले अब नेताहरुले विधिवत विशेष महाधिवेशनमार्फत नेतृत्व विस्थापन गर्ने निर्णायक मोर्चाबन्दी कसेका छन् । यतिबेला एमालेभित्र नेतृत्व परिवर्तनको लागि हस्ताक्षर संकलन समेत भइरहेको छ । यो, केवल असन्तुष्टि प्रदर्शन मात्र होइन, ओलीको दम्भ ढाल्ने एउटा वैधानिक बिद्रोहको तयारी पनि हो । यसको सीधा अर्थ के हो भने एमालेभित्रको प्रतिपक्षी स्वर अब भावनात्मक आक्रोशमा मात्र सीमित छैन, यसले ठोस संगठनात्मक र वैधानिक मार्ग पक्रिसकेको छ ।

अकल्पनीय चुनावी पराजय, जनमतको तीव्र क्षयीकरण र गहिरिँदो नैतिक संकट एकैपटक आइलागेपछि एमालेका दोस्रो तहका प्रभावशाली नेताहरू एउटै कित्तामा उभिन बाध्य भएका छन् । त्यसैले नेतृत्व परिवर्तनको माग अब कुनै अनुशासनहीनता वा गुटबन्दी मात्र रहेन, यो एमालेलाई अस्तित्वको संकटबाट जोगाउने प्रयास हो । त्यसैले इत्तर पक्ष मात्रै होइनन, अध्यक्ष ओलीकै निकट मानिएका नेताहरू पनि नेतृत्व परिवर्तको पक्षमा उभिन थालेका छन् । नेता सुरेन्द्र पाण्डे, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईजस्ता नेताहरू अब जसरी पनि नेतृत्व परिवर्तन गनुपर्ने निकर्षमा पुगेका छन् ।

यद्यपि, ओली निकट केही नेताहरू अहिलेको अवस्थालाई ‘विषम परिस्थिति’ भन्दै सहानुभूतिको अपिल गरिरहेका छन् । अध्यक्षमाथि परेको कानुनी र राजनीतिक दबाबका बेला नेतृत्वमाथि प्रहार गर्नु अनुपयुक्त हुने उनीहरूको तर्क छ ।

राजनीति केवल सहानुभूति र पुराना संवेदनाले मात्र चल्दैन, यसका लागि उत्तरदायित्व पनि उत्तिकै अनिवार्य हुन्छ । त्यसैले यतिबेला एमालेभित्र एउटा गम्भीर सैद्धान्तिक र सांगठनिक द्वन्द्व चर्किएको छ– पार्टीले व्यक्तिप्रतिको अन्धभक्ति रोज्ने कि संस्थाप्रतिको उत्तरदायित्व ?

चुनावमा सर्वनाक हार बेहोरेपछि एमालेसँग गुमेको जनमतलाई आश्वस्त पार्ने एउटा सुनौलो अवसर थियो, संसदीय दलको नेता चयन । संसदीय दलको नेतृत्वमा नयाँ, ऊर्जावान र स्वच्छ छवि भएका पात्रहरूलाई अघि सारेर पुस्तान्तरणको सन्देश दिन सकेको भए पार्टीको साखमा लागेको क्षति केही हदसम्म कम हुन सक्थ्यो । विशेषगरी, सुहाङ नेम्वाङजस्ता उदीयमान युवालाई अगाडि सारेर एमालेले आफूलाई समयसापेक्ष परिवर्तन गर्ने हिम्मत देखाउन सक्थ्यो । तर, नेतृत्वले त्यो अग्रगामी बाटो रोज्न चाहेन । उल्टै ७० वर्ष नाघिसकेका रामबहादुर थापा ‘बादल’लाई संसदीय दलको नेता चयन गरियो । नेतृत्वको यो पश्चगामी निर्णयले पार्टीभित्र सल्केको असन्तोषको आगोलाई झन् दन्काइदिएको छ ।

अझ, शिक्षण अस्पतालको वार्ड नम्बर ५०१ बाट आएको ठाडो निर्देशनमा बादललाई संसदीय दलको नेता बनाइएको चर्चाले एमालेभित्रको आन्तरिक लोकतन्त्रको कुरुप ऐना देखाएको छ । जब निर्णयहरू विधि, विधान र सामूहिक विवेकबाट होइन, व्यक्तिको सनक र आदेशबाट निर्देशित हुन्छन्, तब राजनीतिक संगठनको औचित्यमाथि नै प्रश्न उठ्छ । यो घटनाले एमालेलाई एउटा जीवन्त संगठन होइन, व्यक्तिको हुकुमी क्लबमा परिणत भएको प्रस्ट हुन्छ ।

एमालेभित्र चर्किएको विशेष महाधिवेशनको बहसलाई थप अर्थपूर्ण बनाउने एउटा नजीर नेपाली कांग्रेसले प्रस्तुत गरिसकेको छ । संसद्को दोस्रो ठूलो दल कांग्रेस यतिबेला विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको ऊर्जामा अघि बढिरहेको छ । कांग्रेसको यही दृष्टान्तले एमालेभित्र नेतृत्व परिवर्तन असम्भव छैन भन्ने सन्देश दिएको छ । अब प्रश्न केवल कहिले भन्ने मात्र हो । तर, एमालेको यो विद्रोहले अझै पूर्ण आकार लिन सकेको छैन, जसको पछाडि एउटा गम्भीर रिक्तता छ । ओलीविरुद्ध जनाक्रोश छ, तर ओलीपछि को ? भन्ने प्रश्नमा अन्योल कायमै छ । कार्यकर्ताको एउटा ठूलो पङ्क्तिलाई लाग्छ– ओली युगको अवसान अपरिहार्य भइसक्यो । तर, त्यसपछिको एमाले कसको काँधमा ? के नयाँ नेतृत्वले केवल अनुहार मात्रै फेर्नेछ कि कार्यशैली पनि ? कतै त्यो अर्को कुनै ओलीवादकै नयाँ संस्करण त हुने होइन ? यी प्रश्नहरू अझै अनुत्तरित छन् ।

केबल नेतृत्व फेर्दैमा पार्टी पुनर्जीवित हुँदैन । यदि ओली बिदा भएर पनि त्यही केन्द्रीकृत संस्कार, आदेशमुखी संरचना र आलोचनाप्रतिको असहिष्णुता कायमै रह्यो भने एमालेले अनुहार त फेर्ला, तर चरित्र फेर्न सक्ने छैन। त्यसैले अहिलेको बहस केवल नेतृत्वको मात्र होइन, पार्टीको चरित्र रूपान्तरणको पनि हो । एमाले अब व्यक्तिमा टिक्ने कि संस्थामा फर्किने ? आलोचनालाई अपराध मान्ने कि सुधारको आधार बनाउने ? अनि, युवालाई केवल भिड जम्मा गर्ने र नारा लगाउनेमा सीमित राख्ने कि वैचारिक धार र नेतृत्वको निर्णायक तहमा स्थापित गर्ने ? आजको एमाले सामु उभिएको गम्भीर प्रश्न यही हो ।

आजको एमाले केवल चुनाव हारेर न्याउरो भएको पार्टी मात्र होइन, आफ्नै नेतृत्वको अनुदार कार्यशैली र हठका कारण थाकेको एउटा शिथिल संगठन पनि भएको छ । मजबुत संगठन, देशव्यापी संरचना र गौरवमय इतिहास भएरपनि यतिबेला एमालेमा विचार र ऊर्जाको चरम खडेरी देखिन्छ । यो गुमेको ऊर्जा पुनः प्राप्त गर्न अब गजेडी गफको सहाराले पुग्नेवाला छैन, यसका लागि नेतृत्वले कठोर आत्मसमीक्षा, निर्मम आत्मालोचना र आमूल परिवर्तनको साहस देखाउनैपर्छ ।

एमाले आज एउटा निर्णायक मोडमा उभिएको छ । उसले या त यो पराजयलाई अवसर बनाएर पुस्तान्तरण र राजनीतिक पुनर्जन्मको बाटो समात्न सक्छ, या फेरि व्यक्तिकेन्द्रितमै अल्झिन्छ । यदि दोस्रो बाटो रोजियो भने एमाले पार्टी नै सक्किने निश्चित छ । त्यसैले अब एमाले बचाउन ‘ओली युग’को ससम्मान अन्त्य अपरिहार्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्