
शान्त र एक्लै बस्न मन पराउने रसना बज्राचार्यको चित्रप्रतिको रुचि बाल्यकालदेखिकै हो । चित्र बनाउने सौख कसैबाट प्रभावमा परेर होइन, एकान्तमा बस्दा कलम, रंग र ब्रससँग खेल्दाखेल्दै त्यसैमा रुचि जागेको हो । जब उनका चित्रहरू रंगिन र कलात्मक बन्दै गए, प्रसंशा र पे्ररणा पनि पाउँदै गइन् । फाइन आटर््समा मास्टर गरेकी रसनाले दर्जनौँ पेन्टिङ कोरिसकेकी छिन् । चित्रबाटै उनी विदेशसम्म पुगेकी छिन् । उनले विभिन्न सम्मान पनि पाएकी छिन् । जीवनको अन्त्यसम्म चित्र कोरिरहन पाऊँ भन्ने उनको कामना छ । उनै चित्रकार रसना बज्राचार्यसँग रेजिना पाण्डेको जम्का भेट ।
आजभोलि चित्र बनाउन कतिको व्यस्त हुनुहुन्छ ?
रंग र ब्रससँग नखेली मेरो दैनिकी बितेजस्तो लाग्दैन । चित्र नकोरी म बस्दै सक्दिनँ । म चित्रसँग खेलिरहेकी हुन्छु । अहिले भर्खरै मात्र दिल्लीको एउटा प्रोजेक्टको काम सिद्धाएँ । थप अरू काम गरिरहेको छु ।
कस्तो हो दिल्लीको प्रोजेक्ट भनेको ?
यसमा संसारभरका ७४ महिलाले बनाएका चित्रहरू प्रदर्शनीमा राखिदै छ । जसमा मेरो पनि चित्र पनि समावेश छ । यसमा विवाहित महिला चित्रकारले मात्र सहभागिता जनाउदै आएका छन् । जसमा आमाको भूमिका, आमा र कलाकारको प्रभाव, मातृत्वबारे चित्रहरू रहने छन । यो प्रदर्शनी अप्रिल महिनाको १२ तारिखसम्म चल्नेछ ।
चित्रसँग यतिधेरै प्रेम किन ?
चित्र मेरो प्राण हो । म जीवनको अन्तिम समयसम्म पनि चित्र कोरिरहुँ जस्तो लाग्छ । किनकि, चित्र र मेरो सम्बन्ध मेरो साससँग जोडिएको छ । चित्र नै मेरो पे्रम हो, जीवन पनि हो । यसलाई जसरी वर्णन गरेपनि कम हुन्छ ।
तपाईं बढीजस्तो कस्तो चित्र बनाउनुहुन्छ ?
समसामायिक विषयबस्तुमा केन्द्रित रहेर चित्र बनाउँछु । समाज, प्रकृति, देशका चित्रहरू बनाउँछु । मुहार चित्र पनि बनाउछु । मलाई जे कुराले बढी प्रभाव पार्छ, त्यही बिषयमा चित्र कोरिहाल्छु ।
तपाईंको चित्रहरू हेर्दा आक्रोशित स्वतन्त्रता पाइन्छ किन ?
म समसामयिक बिषयबस्तुमा केन्द्रित भएर चित्र बनाउने भएकोले समाजमा घटेका घटना, बितेका घटना, पे्रमभोग, रोग, पिडा, यातना, सबै कोर्छु । मलाई लाग्छ मेरो चित्रले सबैको मन आनन्द होस्, पे्रम होस्, पे्रम देखोस् भन्ने लाग्छ । श्रीमतीलाई एक छाक श्रीमानले पकाएर खानदियो भने संसारमा कथा बन्छ । एउटा महिलालाई पुरानै सोचमा बाँधेर राख्ने धार अझै अन्त भएको छैन । अहिले मैले मेरो चित्रमा महिलाले महिनावारी हँुदा लगाउने प्याडका व्यथा, महिलाले भोगेका पीडा सबै उतार्ने प्रयास गरेको छु । तर, यो भनिरहदा पीडित पुरुषहरू पनि हाम्रो समाजमा नभएका होइनन्, उनीहरूको पीडा पनि चित्रमा उतार्ने प्रयास गरेको छु ।
चित्रबाट समाज परिवर्तन गर्न सकिन्छ ?
सकिन्छ, चित्र यस्तो चिज हो, जसले सबै कुरा बोल्छ । समाजलाई आँखाले देख्न नसकेका कुराहरू पेन्टिङमाफर्त देखिन्छन् । कति पेन्टिङहरु यस्ता छन् जुन जति हेरे पनि हेरिरहुँजस्तो लाग्छन् ।
चित्र बनाउदा कति गहिराईसम्म पुग्नुहुन्छ ?
मृत्युसम्म पुग्नुपर्छ । आफू मरिनु पनि पर्छ । कति आफै पीडा सहनुपर्छ । चित्र बनाउँदा कतिचोटी त म तडपिएको पनि छु ।
कुनै चित्र बनाउदा हात कामेका छन् ?
धैरै छन् । जसलाई कल्पना गर्न पनि गाह्रो हुन्छ । जस्तो, बलात्कार भएका चित्रहरू बनाउँदा होस् वा प्याडमा लागेका रगत कल्पना गर्दा नै किन नहोस् ।
नेपालमा चित्रलाई हेर्ने प्रवृत्ति कस्तो छ ?
पहिलेभन्दा धैरै राम्रो भएको छ । पहिलेको तुलनामा पेन्टिङहरू मनपराउने धैरै हुनुहुन्छ । डिजिटल प्ल्याटफर्महरूले पनि धैरै अवसर दिएको छ । पहिले चित्र हेर्न आर्ट ग्यालरीमा नै निर्भर हुनुपथ्र्यो, अहिले भने सामाजिक सञ्जालले पनि चित्र र चित्रकारलाई सहज पारिदिएको छ ।
आजसम्म कति चित्र बनाउनु भयो ?
गनी साध्ये नै छैन । कति प्रदर्शनीमा आए, कति विके, कति बनाएर थन्केका छन् ।
तपाईं चित्र बनाउनेबाहेक सर्वोच्च अदालतमा पनि काम गनुहुन्छ होइन ?
म सर्वोच्च अदालतमा न्यायिक संग्राहलयमा काम गर्छु । त्यहाँ ग्राफिक डिजाइन गर्नु, पुराना÷नयाँ चित्रलाई संरक्षण गर्नु मेरो काम हो । नयाँ न्यायाधीशको चित्र डिजाइन गर्ने, अथिथिका लागि सजावटको चित्र तयार पार्ने काम गर्छु । न्याय कार्यक्रम झल्कने डिजाइन गर्ने र बुकहरूको कभर डिजाइन गर्ने काम पनि गर्छु ।
बच्चा, घर, चित्र र अफिसको कामको संयोजन कसरी गर्नुहुन्छ ?
जिम्मेवारीबाट भाग्न मिल्दैन । श्रीमानको साथ पाएकाले सबै काम गर्न सहज भएको छ ।
भविष्यको योजना के छ ?
बाचुन्जेलसम्म चित्र बनाइरहने योजना छ । जीवन रहेसम्म यही ब्रस र रंग समाउन पाउँ भन्ने छ ।










