Logo
Logo

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री सार्वजनिक


252
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ वर्ष २०८३ सालको अवसरमा वित्तीय साक्षरता कथा संग्रह तथा सम्बन्धित भिडियो सामग्रीहरु सार्वजनिक गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै बैंकले नयाँ सुरुवात गरेको बताएको हो ।

वित्तीय साक्षरता कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गरे । बैंकले वित्तीय साक्षरता केवल सूचना होइन, व्यवहार परिवर्तन गर्ने प्रक्रिया भएको उल्लेख गर्दै कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्याउने विश्वास व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्त्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग, तथा आर्थिक योजना जस्ता विषयहरूलाई सरल, रोचक र सन्देशमूलक कथाहरूका माध्यमबाट प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो कथा संग्रह देशभरका विभिन्न विद्यालयहरूमा वितरण गरिनेछ, जसले विद्यार्थीहरूमा प्रारम्भिक उमेरदेखि नै वित्तीय अनुशासन, बचत गर्ने बानी र जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुर्याउनेछ । साथै, बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै अल्फाग्रो सेभिङ खाता खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप खुत्रुकेसँगै उक्त कथा संग्रह समेत प्रदान गर्ने व्यवस्था मिलाएको छ, जसले बचत व्यवस्थापनलाई व्यवहारिक रूपमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

यस अभियानको विशेष आकर्षणका रूपमा कथा संग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण गरिएको छ । यी भिडियोहरूमा कथाका पात्रहरूलाई दृश्यात्मक रूपमा जीवन्त बनाउँदै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ । बैंकका अनुसार, भिडियो सामग्रीले विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सजिलै बुझ्न सकिने माध्यममा रूपान्तरण गर्नेछ ।

कथा संग्रहसँग सम्बन्धित भिडियो सामग्रीहरू प्रत्येक हप्तामा दुई दिन बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमहरूलाई आगामी दिनहरूमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, यस अभियानमार्फत समुदायस्तरमै वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्