
आज चैत ३० गते, २०८२ साल । विक्रम संवत् २०८२ को अन्तिम दिन । हुन त यतिबेला म यो संवत् मात्र हैन, पुरै पात्रो नै नचिन्ने अमेरिकाको राजधानी वासिङ्टन डीसीमा छु । तर पनि किन हो किन मलाई भने चैत ढलेर वैशाख लाग्दा मात्रै पुरानो संवत् ढलेर नयाँ ठडिए जस्तो लाग्छ ।
अनि, भित्रैदेखि लेख्न मन लाग्छ, सबैलाई नयाँ वर्षको शुभकामना !
जीवन इस्वी संवत्को फित्तामा नाप्दा पनि याद विक्रम सम्बतकै । तन अमेरिकामा भए पनि मन नेपालमै । शायद यसैले होला, यो मन त नेपाली नै हो भनेको ।
विक्रम संवत्– मैले जीवनको धरै समय नापेको संवत् । अहिले दैनन्दिनीमा काम नआए पनि मेरो जीवनको अस्तित्वमै यसको अहम् महत्त्व छ । म यसैमा जन्मेँ । यसैमा लेखियो मेरो चिना । न्वारान, विवाह–व्रतबन्ध, शिक्षादीक्षा, नागरिकता, जागिरको नियुक्ति, अवकाश आदि, इत्यादि– जीवनका सबै महत्त्वपूर्ण तिथि मिति यसैमा नापिए, भए– लेखिए ।
हरियो राहदानी, शायद यही नै मेरो इस्वी संवत्मा बनेको पहिलो लिखत हुनुपर्छ । त्यही लिखत बोकेर आएको थिएँ अमेरिका । आएको पनि एक दशक भयो । जीवनको ६ दशकमध्ये एक दशक । यही एक दशक हो, इस्वी संवत्मा जीवन नापेको । बाँकी त विक्रम संवत्मै नापेको हुँ ।
वर्षको सन्दर्भमा घटनाक्रमका आधारमा यो संवत् विशेष, त्यो संवत् विशेष भन्ने चलन छ । मलाई भने हरेक संवत् विशेष लाग्छ । घटनाक्रम नै विशेष नभए पनि विशेष । यसकारणले कि कुनै पनि संवत् फेरि दोहोरिएर आउँदैन । सिंगो मानव इतिहासमै एकपटक मात्र आउँछ, यसैले विशेष हुन्छ हरेक संवत् ।
विक्रम संवत् २०८२ पनि विशेष नै हो । अझ, त्यसमा पनि यो संवत् नेपालको इतिहासमा त घटनाक्रमले पनि विशेष नै बन्यो । जेनजी आन्दोलन, सत्तापलट, मध्यावधि चुनाव, पुराना दलको पत्तासाफ अनि नयाँ दलको उदय । हेर्दा नाटकीय लाग्ने यी घटनाक्रमले नेपाली राजनीतिको डाइनामिक मात्रै हैन, पाराडाइम नै सिफ्ट गरिदियो ।
०००
यो सम्बतको आधा समय मैले नेपालमै बिताएँ । दशैं–तिहार मान्न गैयो । दुई महिनापछि अमेरिका फर्केको २८ दिन मात्र भएको थियो ।आमा साह्रै भएर आईसीयुमा राखेको खबर आयो । आमाको उपचार गरिरहेको डाक्टरसँग कुरा गरेँ । उनले भने, ‘चिकित्सा विज्ञानले गर्ने जति गरियो, अब बाँकी भगवानको जिम्मा । घरमै लैजानुस् ।’
डाक्टरले नै यसो भनेपछि हताश हुनु स्वाभाविक थियो, म पूरै हताश भएँ । सारा नौनारी गलेर थचक्क बसें । तर, यो समाधान थिएन । आत्मबल दह्रो बनाएँ । तुरून्तै टिकट काटेर रातारात नेपाल उडेँ । हिँड्ने बेलामा एउटै प्रार्थना थियो, आमालाई भेट्न सकुँ ।
नेपाल पनि काठमाडौं पुगेर हुने थिएन, दमक झापा पुग्नु पथ्र्यो । वासिंङटन डीसी– काठमाडौं, काठमाडौं–विराटनगर हुँदै दमक पुग्दा ५६ घण्टा बितिसकेको थियो । आमाको धुकधुकी भेट्ने सानो आश लिएर उडेको छोरोको प्रार्थनाले पनि काम गरेर होला शायद, नभन्दै आमा मृत्युसँग पौठेजोरी खेल्दै मलाई पर्खिरहेकी थिइन् ।
पुग्नेबित्तिकै गोडा ढोगेर सोधेँ ‘आमा, मलाई चिन्नुभयो?‘ आमाले मेरो अनुहार हेरिरहिन् तर चिन्न सकिनन् । एकछिन पछि भनिन्, ‘चिनिनँ ।‘ मैले फेरि भनेँ, ‘म काइँलो ।‘ तर पनि उनले मलाई चिन्न सकिनन् । फेरि भनिन्,‘चिनिनँ ।‘
जन्मदिने आमाले आफ्नै छोरा चिन्न नसक्ने यो अवस्था ?, आमा त लगभग पीडा अनुभूत गर्ने अवस्थामा थिइनन् । होशहवासमै भएको म त्यतिबेला यति असहाय थिए कि अहिले सम्झँदा पनि आङ फुलेर आउँछ । म शब्दमा व्यक्त गर्नै सक्दिन ।
आमाको जीवनका लागि जे गर्न सकिन्थ्यो, गरियो । कहिले केही विसेक हुने, कहिले गाह्रो हुने– आमा जीवन मृत्युको चकाचुली खेलिरहिन् । चार महिनाको बिचमा तीनपटक त उनले पुनर्जीवन नै पाइँन् । त्यसमा म साक्षी मात्र बसिँन, एक सन्तानले गर्न सक्ने सबै गरेँ ।
नभन्दै सय वर्ष हाराहारीकी आमाको स्वास्थ्यमा ठूलो सुधार आयो । आमा बोल्न थालिन्, मुस्कुराउन थालिन् । जीवनमा फेरि आशाका किरणहरू छरिए । हामी पनि आमासँगै सबै मुस्कुराउन थाल्यो । एक दिन उनले मेरो छोरोसँग भिडियोमा कुरा गर्दै भनिन्, ‘काले, म तिमी डक्टर भएर नआएसम्म बाँचिरहन्छु । डक्टर भएर मलाई उपचार गर्नु है ।’
कामना गरौँ । आमाको इच्छा पूरा होस् । पूरा भयो भने मेरी आमा कम्तीमा पनि अरू सात वर्ष बाँच्दिछन् । सन्तानका लागि आमाको सात वर्षको जीवन– योभन्दा ठूलो खुसी के हुन सक्छ र ?
मेरी आमा न्युयोर्कको म्यानहट्टनमै बसेकी छन् । त्यहाँ बस्दा उनले अमेरिकी जीवनको निर्मम तस्बिर देखेकी छन् । त्यही सम्झना गराउँदै एक दिन आमाले भनिन्, अब म निको भएँ । तेरो छोरो पनि निस्तायो होला । उता सबै बित्यो होला । अब जा ।‘
हिँड्ने बेलामा मेरो शीरमा दुबै हात राखेर आमाले भनिन्, ‘नरोई जा । मैले एकपटक जन्माएको थिएँ । तैँले मलाई तीनपटक बचाइस् । अब तँ मेरो हैन, म चाहिँ तेरो ऋणी भएँ । मेरो कोख लाख भयो । स्याबास छोरा, सबै आमालाई यस्तै छोरा मिलुन् ।‘
अहिलेसम्म पनि गुन्जिरहेको छ, आमाको त्यो अमृतवाणी । मलाई लाग्छ, यही वाणी नै मेरो जीवनको सर्वोत्कृष्ट कमाइ हो । यसपटक म त्यही अमूल्य कमाइ बोकेर अमेरिका फर्केको छु । अब मलाई कमाइको जोडघटाउ गर्नु वा त्यसको अर्थ र उपादेयता खोज्नुको कुनै अर्थ छैन, रहनु हुँदैन ।
झट्ट पढ्दा यो मेरो व्यक्तिगत गन्थन जस्तो लाग्न सक्छ । तर, यो त्यति मात्रै भनेर पुग्ने खालको विषय हैन । हरेक दोस्रो घरको कुनै न कुनै सन्तान विदेशमा रहेको यति बेला नेपालको आजको यथार्थ नै यही हो । घरको घरको कथा हो, व्यथा हो ।
खासगरी आफ्नो प्रिय मान्छे जीवनको अन्तिम घडी गनिरहँदा पनि कहिले आउन नसक्नु, कहिले भनेको समयमा आइपुग्न नसकेर ‘शतगति गर्दै गर्नु म आउँदै गर्छु’ भन्नुपर्ने स्थिति हुन्छ । यो जति पीडादायी क्षण के हुन सक्छ र ?
०००
आमा बिरामी भएर नेपाल बस्नु मेरो लागि वरदान साबित भयो । एकातिर आमा निको हुनुभयो, अर्कोतिर नजिकबाट छाम्दै छुँदै आजको नेपाल बुझ्न पाएँ ।
मैले यसपटक पनि नेपाललाई संसारकै अनुपम देश देखेँ । तर, आज यो जुन अवस्थामा छ, त्यो देखेर म पटक्कै आशावादी हुन सकिन, निराश भएँ । म चाहन्छु, मेरो जन्मभूमी सुन्दर त छ नै, समृद्ध होस् । अनि यस पूण्यभूमीमा जन्मेकाहरू सुखी हुन् । तर, यो प्रिय चाहना पूरा होला जस्तो लागेन ।
नलाग्नुका एक हैन, अनेक कारण छन् ।
खासगरी हिमाली र पहाडी भेगका गाउँबस्ती सुनसान छन् । खेतबारी बाँझो छ । गोठ रित्ता छन् । घरमा वृद्धवृद्धा, महिला र ससाना लालाबाला बाहेक केही छैनन् । लाठेहरू सबै आआफ्नो हैसियतको विदेश लागेका छन् । विदेश जान नसक्नेहरू नजिकको बजार, सहर, सदरमुकाम वा राजधानी पसेका छन् ।
तराई–मधेसको हालत पनि योभन्दा भिन्न छैन । फरक केही छ भने अझै पनि यहाँका धेरैजसो जग्गा भने बाझा छैनन्, गुल्जार नै छन् ।
देशमा केही हुँदैन भन्ने भाष्य लगभग मान्य भइसक्यो । सबैको दिमाखमा विदेशको भूत सवार छ । देशमा कोही काम गर्न तयार छैन । काम ठूलो सानो छ । पसिना बगाउने सानो भन्ने सोच छ, कोही गर्नै चाहन्न । त्यो गर्दा बेइज्जत हुन्छ भन्ने अजीव मान्यता छ ।
काम गर्ने होस् वा नगर्ने, सबैलाई स्मार्ट फोन चाहिएको छ । स्मार्टफोनमा कि त वाईफाई हुनुपर्छ, कि डेटा प्याकेज । त्यो नहुँदा कसैको पनि संसार नै छैन । लाग्छ, स्मार्टफोन छैन, केही पनि छैन । स्मार्टफोन हुनु नराम्रो हैन तर यसमा कस्तो कन्टेट सर्फिङ भैरहेकोछ– त्यो महत्त्वपूर्ण कुरा हो । यो कोणबाट हेर्दा निराश हुनुपर्ने स्थिति छ । सामाजिक सञ्जाल पूरै असामाजिक छ । यो एक किसिमको साइबर क्राइमको मेशिन भएको छ । नेपाल नीलो सिनेमा हेर्ने देशको २३औँ माथिल्लो सूचीमा छ । स्मार्टफोन के का लागि?, यी दुईटा बेञ्चमार्क नै पर्याप्त छन् ।
नानीबाबुबाट सुरु गरौँ । नेट चल्ने स्मार्टफोन नपाउँदा उनीहरूको जुन एरोगेसी छ, त्यो डरलाग्दो छ । को मन पर्छ भन्यो भने जसले फोन दिन्छ उही भन्छन् । उनीहरूको शारीरिक र मानसिक दुवै विकास चौपट छ । पढाइको त कुरै नगरौँ ।
किशोर÷किशोरिको कुरा गर्दा, प्लस टु सकिएपछि कोही पनि देशमा बस्न चाहँदैन । यसले एउटा लगभग मानव तस्करीकै धन्दा सुरु भएको छ । यो धन्दा चलाउन भाषा प्रशिक्षण केन्द्र र विद्यार्थी परामर्शदाता कम्पनीको च्याउ खेती छ । सहर बजारका हरेक दोस्रो घर छोडेर तेस्रो घरमा यस्तै साइनबोर्ड हुन्छन् । यस्तो अजीव परिस्थिति सिर्जना भएको छ कि पढ्ने नाममा विदेश जान नसक्ने किशोर/किशोरी र उनीहरूलाई पठाउन नसक्ने बाबुआमा लाछी हुन् ।
घरमा कोही मूली छैन । छ भने पनि उसको परिभाषा बदलिएको छ । हिजोआज मूली भनेको घरका सदस्यको आवश्यकता पूर्ति गर्ने मुख्य प्रायोजक हो । आवश्यकता यति छन् कि त्यसका लागि कर्मचारी भए घुस खानुपर्ने हुन्छ, नेता भए विचौलिया समातेर लुट्ने सेटिङमा लाग्नुपर्ने । दुवै छैन भने जता सकिन्छ, त्यतैको विदेश लाग्नुपर्ने हुन्छ ।
यति सबै गरेर पनि बाहिर जान नसक्ने चाहिँ डिजिटल इको च्याम्बरका कैदी बन्छन् । खाली दिमाख सैतानको घर भएका साइबर जंकी । तिनै जंकीहरू सामाजिक सञ्जालमा पसेर साइबर बुलिङ, डिजिटल लिन्चिङ नानाभाती गरिरहेका छन् ।
अचेलका युवापिँढी आफूलाई नयाँ र स्मार्ट ठान्छन् । अहिले नयाँ भनेकै रास्वपा भएको छ । त्यो हुन कि बालेनको भक्त हुनुपर्छ कि रविको । तिनै भक्तहरूले सामाजिक सञ्जालमा घण्टी बजाए यसपटक । आयो, रास्वपाको दुई कम दुई तिहाईको बहुमत । अनि बने, ३५ वर्षीय प्रधानमन्त्री बालेन शाह । ४० वर्ष मुनिका १० क्याबिनेट मन्त्री । यी अनुहारहरू हेर्दा यस्तो लाग्छ, राजनीति गर्न अव न उमेर चाहिन्छ, न अनुभव । न त्यही विषय नै पढ्नुपर्छ । जोकोहीले पनि गर्नसक्ने सजिलो काम भएको छ, राजनीति ।
विक्रम संवत् २०८२ले गरेको चमत्कार यही हो । यही चमत्कारका कारण यो सम्वत नेपालकै इतिहासमा कहिल्यै बिर्सन नसकिने संवत् बन्न पुग्यो । यस कोणबाट हेर्दा, यो विशेष मात्र हैन, अरू विशेष नै भएको छ ।
त्यही विशेष सम्बतको अन्तिम दिनको घाम डुबेपछिको लगभग १२ घण्टापछि आइपुगेको हो, आजको दिन । अर्थात्, २०८३ सालको पहिलो दिन, वैशाख १ गते । पात्रो त फेरियो । तर पनि आजबाट सुरु भएको यो संवत् हिजोकै निरन्तरता हो ।
नयाँको कुरा गर्दा, बालेनको प्रवेशपछि रास्वपाले नयाँ दाबी गरेको छ । जनताले पनि नयाँ नै माने । तर, यो नयाँमाथि पनि पुरानै प्रश्न थाँती छन् । त्यो पनि पार्टीकै सुप्रिमो रवि लामिछानेमाथिका एक हैन दुई प्रश्न । पहिलो र जटील प्रश्न दोहोरो नागरिकतासँग सम्बन्धित हो । तर, यो खासै चर्चामा छैन । चर्चामा त दोस्रो प्रश्न छ, सहकारी ठगी प्रकरणसँग सम्बन्धित प्रश्न ।
दुवै प्रश्न अदालतमा छन् । तर,जेलिएको कुरा के हो भने दुवै प्रश्नसँग सरकार जोडिएको छ । र, अहिले सरकार रास्वपाको छ । यो सरकार पहिलेकै सरकारको निरन्तरता भए पनि रविको सन्दर्भमा यो सरकारले फरक मान्यता राख्छ । खुला किताबको पाना जस्तै छ कि यो सरकारको नेतृत्वले लामछिनेमाथि पहिलाको सरकारले प्रतिशोध साँधेको भन्ने छ । सुरूमा त्यो भाष्य थियो, अहिले त त्यो लगभग सत्य बनिसक्यो । तथ्यचाहिँ अदालतले फैसला गरेपछि मात्रै स्थापित हुने हो ।
नयाँ सरकारको म्यान्डेट सुशासन हो । यसको पहिलो शर्त हो, आफैँमाथि शासन । त्यसो गर्न सरकारले सबैभन्दा पहिला आफ्नै सभापतिमाथिको मुद्दा निम्ट्याउनुपर्ने हुन्छ । अहिलेका एक्सन ओरियन्टेड गृहमन्त्री सुधन गुरूङको लिटमस टेष्ट नै यही हो । यदि उनी लामिछानेको मुद्दामा सरकार पक्ष नभएर रवि पक्ष भए भने त्यो भनेको सुशासनको चिहान खन्ने काम हो ।
त्यसो नगर्ने हो भने एउटा सजिलो प्रेस्कृप्सन छ । ग्यालेक्सी टीभी र सहकारी ठगी प्रकणको मूल नाइके भनिएका जीवी राईलाई मलेसियाबाट नेपाल ल्याएर कानुनको कठघरामा उभ्याउने । रविले सबै दोष जीवीमाथि थोपरेर निर्दोष दाबी गरेका छन् । त्यो हो कि हैन भन्ने अदालती परीक्षण गरेपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ । त्यो निष्कर्ष रविको पक्षमा आयो भने उनी निर्दोष ठहरेलान र सरकार पूर्वाग्रही भएको प्रमाणित पनि होला । अन्यथा त रवि दोषी हुनेछन् । त्यसपछि, त्यही प्रकरणसँग जोडिएको सम्पति सुद्धिकरण र संगठित अपराधको मुद्दाको पनि छिनोफानो होला ।
त्यसले फैसला गर्ने हो, रविको राजनीतिक जीवनको भविष्य । उनको भविष्यसँगै रास्वपाको पनि भविष्य गाँसिएको छ । हुन त रविको यो मुद्दा रास्वपा गठन हुनुअघिकै हो । तर, रास्वपाले यसलाई त्यसरी लिएन, व्यक्तिको मुद्दा पार्टीकै मुद्दा ठान्यो । र, मज्जैले राजनीति गर्यो ।
तर, यो सँधै राजनीति गर्ने विषय हुन सक्दैन । यसको छिनोफानो गर्ने प्रकियालाई चुस्त दुरुस्त गर्न सरकारले पहलकदमी लिनुपर्छ । त्यसो गर्न सकियो भने मात्र सुशासनको मुद्दामा यो सरकार खह्रो उत्रेको ठहर्छ । अन्यथा, यो नयाँ पनि २०८७ मा पुरानै भैसक्छ । देश राजनीतिको अर्को असफल प्रयोगशाला बन्छ । त्यसो हुनु रास्वपाका लागि मात्र हैन, नेपालकै लागि पनि अभिशाप हुन्छ ।
कामना गरौँ, त्यस्तो नहोस् । नयाँ वर्ष २०८३ यसरी नै सुरु गरौँ । सबैलाई शुभकामना !











