काठमाडौं । ग्रेटर अष्टिन नेपाली समाजको आसन्न निर्वाचनलाई लक्षित गर्दै पदम ठकुरीको नेतृत्वमा एक सशक्त, समावेशी र प्रतिबद्ध प्यानल सार्वजनिक गरिएको छ। निर्वाचनका लागि उक्त टिमले अनुभवी र सक्षम उम्मेदवारहरूलाई विभिन्न पदमा अघि सारेको जनाएको छ।

प्यानल अनुसार अध्यक्ष पदमा पदम ठकुरी, वरिष्ठ उपाध्यक्षमा विनोद शाह, महिला उपाध्यक्षमा ज्ञानु कोइराला, उपाध्यक्षमा बोधराज घिमिरे र महासचिवमा विष्णु पहाडी उम्मेदवार रहेका छन्। टिमले समुदायमा एकता, सहकार्य र सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त प्यानलले संस्थागत एकता, पारदर्शिता र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रतिबद्धतामा सबैको भावना समेटिएको “हाम्रो विधान” निर्माणका लागि विधान संशोधन गर्ने, संस्थाको आर्थिक आय–व्ययलाई पूर्ण पारदर्शितासहित सञ्चालन गर्ने, बाहिर राखिएका ट्रस्टीहरूलाई सम्मानपूर्वक पुनः समावेश गर्ने लगायतका विषय समेटिएका छन्।
त्यसैगरी, सार्वजनिक शौचालय तथा पार्किङ स्थलको विस्तार गर्ने, अष्टिनमा बसोबास गर्ने नेपालीहरूको संस्था र मन्दिरप्रति सहभागिता, स्वामित्व र अपनत्व सुनिश्चित गर्ने तथा “न निषेध, न प्रतिशोध — हामी एक बनौँ” भन्ने भावनासहित अघि बढ्ने योजना पनि टिमले अघि सारेको छ।
यस प्यानलको घोषणाले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ भने एकता, पारदर्शिता र सहकार्य चाहनेहरूका लागि यो समूह बलियो विकल्पका रूपमा देखिएको छ।











