
काठमाडौं । जिल्ला प्रशासन काठमाडौंले आज (शुक्रबार) साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएको छ । प्रशासनले विशेष सूचना जारी गर्दै नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गाहरूमा बनेका संरचना हटाउन भनिएको हो ।
काठमाडौंका सहायक सीडीओ मुक्तिराम रिजालले विज्ञप्ति जारी गरेर यदी उक्त समयमा बस्ती खाली नभए संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने जानकारी दिएका छन् ।
‘यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईं स्वयं हुनुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
वर्षौंदेखि अनधिकृत तवरबाट सार्वजनिक आवागमन र शहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्नेगरी एवं आफ्नो जिउ ज्यान समेत जोखिममा पारी बसोबास गरेका सम्पूर्ण घर टहरामा रहेका व्यक्तिहरू र यसरी बनेका घर टहरामा भाडामा बस्ने, पसल व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गरी आएका व्यक्तिहरूको जानकारीको लागि सूचना जारी गरिएको सीडीओ कार्यालयले जनाएको छ ।












