Logo
Logo

पसिनाले भोक र शोक फलाउने देश


भुपेन्द्र थापा ‘माधव’

63
Shares

माटोको नाडी समातेको किसान
बिहानैदेखि साँझसम्म निरन्तर जोतिरहन्छ ।
उसको छालामा चर्किएको घाम छ
आँखामा वर्षौँदेखि थामिएको पानी ।

उसले बिउ छर्छ,
आशा छर्छ, भविष्य छर्छ, जीवन छर्छ,
तर जब बालीनाली झुल्छ
उसको आफ्नै भाँडो अझै रित्तै बस्छ।

विश्वका खेतहरूमा
फलामका हातहरूले माटो चलाउँछन्
नीतिका छायाले किसान ढाकिएका छन्
अन्नसँगै सम्मान पनि फल्छ त्यहाँ।

तर यहाँ—नेपालका भीर पाखामा
घामसँग जुध्दै, पानीसँग हार्दै
किसानले नै माटो बोक्नुपर्छ काँधमा
जिन्दगीलाई हलीको जुवामा कसेर।

त्यहाँ किसान भविष्यको योजनामा लेखिन्छ
यहाँ किसान केवल चुनावी भाषणमा
त्यहाँ पसिना लगानी बन्छ
यहाँ पसिना ऋणको सर्तमा बेचिन्छ।

उही सूर्यले पोल्छ दुबैलाई
उही पानीले भिजाउँछ
तर किन त्यहाँ पसिना सुन बन्छ
र यहाँ आँसुमा मात्र बिलाउँछ?

यो केवल भाग्यको कथा होइन
यो नीतिको कठोर अनुहार हो
जहाँ खेतमा उम्रिन्छ राजनीति
तर किसानको पेटमा उम्रिँदैन अन्न।

हे माटोका सन्तान
तिम्रो हातले संसार पालिन्छ
तर तिमी किन आफ्नै भोक पाल्छौ?
तिम्रो पसिनाले शहर बन्छ
तिम्रो दुखले बजार चल्छ
तर तिम्रो नाम किन
सूचीको अन्तिम पानामा हराउँछ?

अब चुप लाग्ने समय सकियो
पसिनालाई अधिकारमा बदल
आँसुलाई आवाजमा बदल
माटोलाई आन्दोलनमा उठाऊ।

जब किसान रोइरहन्छ,
त्यो केवल एउटा किसानको पीडा हुँदैन,
त्यो सम्पूर्ण सभ्यताको हार हुनेछ।
र जब किसान उठ्छ
त्यो केवल विद्रोह हुँदैन
त्यो पृथ्वीले आफैँ
न्याय खोजेको आवाज हुनेछ।

प्रतिक्रिया दिनुहोस्