Logo
Logo

‘म्यूजिक फर पिस’मार्फत विश्व शान्तिको सन्देश


0
Shares

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट फर जस्टिस नेपाल’ले ‘म्यूजिक फर पिस’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा संगीतका माध्यमबाट विश्व शान्तिको कामना गरिएको थियो।

नेपाल–रूस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षको सन्दर्भमा आयोजित कार्यक्रममा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाले शुभकामना सन्देश पठाएकी थिइन्। उनको सन्देश रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले वाचन गर्दै दुई देशबीचको सम्बन्धको ७० वर्षे यात्रालाई विशेष रूपमा उल्लेख गरेका थिए।

कार्यक्रममा बुद्धको देशबाट शान्तिको सन्देश दिने उद्देश्यले बटुकहरूले स्वस्तिवाचन गरेका थिए भने शंखनादसमेत गरिएको थियो। युद्ध र द्वन्द्व होइन, वार्तामार्फत मानव जीवनको रक्षा गर्नुपर्ने सन्देशसहित आयोजित कार्यक्रममा बालबालिकाहरूले सारंगी, तबला र बाँसुरीमार्फत विभिन्न गीतका धुन प्रस्तुत गरे।

“द्वन्द्वले मानिसका जीवनहरू जोखिममा परेका छन्। युद्धका कारण पत्रकारहरूको सुरक्षा र सञ्चार माध्यममाथि प्रश्न उठिरहेका बेला शान्ति कायम गर्दै मानव जीवनको उच्च मूल्यको पक्षमा उभिनुपर्छ। जर्नलिस्ट फर जस्टिस नेपालले विश्व शान्तिको कामना गर्ने पहललाई अघि बढाउँदै बुद्धको सन्देश विश्वभर फैलाउन चाहन्छ। हामी शान्ति चाहन्छौं, शान्तिको कामना गर्छौं। सबैको अधिकार रक्षा, अमनचयन र सार्वभौमिकताको सम्मान गर्ने विश्वको पक्षमा उभिन्छौं,” संस्थाका अध्यक्ष टिकाराम खड्काले भने।

रसियन हाउसकी निर्देशक अनास्तासियाले आफ्नो सन्देशमा भनिन्, “रूस–नेपाल कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा यस कार्यक्रमलाई साझा मूल्य, सांस्कृतिक विविधता, एकता र शान्तिको प्रतीकका रूपमा लिएका छौं।”

कार्यक्रममा अध्याय भण्डारी, प्रतीक डंगोल र अनुष गन्धर्वले ‘रेशम फिरिरी’, ‘फर्की आऊ’ र ‘फूलको आँखामा’ जस्ता लोकप्रिय तथा शान्ति प्रेरित गीतका धुनमा वाद्यवादन प्रस्तुत गरेका थिए। त्यसैगरी गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ले ‘अहंकार टुटोस्’ बोलको शान्तिको सन्देश बोकेको गीत प्रस्तुत गरे भने बाल कलाकार आध्या रेग्मीले कथक नृत्यमार्फत दर्शकको मन जितिन्।

नेपालको गणतन्त्र स्थापना र संविधान निर्माणका लागि भएको माओवादी जनयुद्धमा प्रभावित रुकुमबाट समेत शान्तिको कामना गर्दै ‘फूलको आँखामा’ बोलको गीतमा ९ जना बालिकाहरूले पठाएको नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रममा रसियन हाउसका तर्फबाट साकानुस बनियान प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् भने प्रोग्राम म्यानेजर सन्तोष कार्कीको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा पत्रकार, विद्यार्थी, सरोकारवाला तथा शान्तिप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्