काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै तीन दिनको अल्टिमेटम दिएका छन् । उनले युद्ध अन्त्य गर्न युद्धविराममा सहमत हुन इरानसँग तीन दिनको अल्टिमेटम दिएका हुन् । अन्यथा इरानको तेल पाइपलाइनमा विस्फोट हुन सक्ने चेतावनी दिए ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानले तेल निर्यात गर्न नसके पाइपलाइनभित्र दबाब अत्यधिक बढ्ने बताएका छन् । उनका अनुसार तेललाई जहाज वा भण्डारण ट्याङ्कीमा पठाउने मार्ग बन्द हुँदा र नाकाबन्दी लाग्दा यस्तो अवस्था सिर्जना हुन्छ ।
उनले तेलको प्रवाह अचानक रोकिँदा पाइपलाइनभित्र प्राविधिक र प्राकृतिक कारणले दबाब बढेर पाइपलाइन फुट्न सक्ने बताएका छन् । ट्रम्पका अनुसार यस्तो अवस्था आए पाइपलाइनलाई पहिलेको अवस्थामा फर्काउनु लगभग असम्भव हुने र यसको क्षमता पनि धेरै घट्नेछ ।
यता इरानले अमेरिकासँग सम्भावित सम्झौताका विषयमा कडा अडान लिएको छ । इरानले आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको विषयमा कुनै पनि सम्झौता नगर्ने प्रष्ट पारेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यो सन्देश पाकिस्तानमार्फत अमेरिकासम्म पुर्याइएको हो । इरानले यी दुवै विषयलाई आफ्नो ‘रातो रेखा’ भन्दै कुनै पनि प्रकारको सम्झौता सम्भव नभएको जनाएको छ ।
साथै, यो औपचारिक वार्ता नभई आफ्नो धारणा स्पष्ट पार्ने कूटनीतिक पहल मात्र भएको इरानले जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघाचीले यस विषयमा तय सीमाभित्र रहेर जिम्मेवारी निभाइरहेको पनि बताइएको छ ।











