काठमाडौं । इन्डो-प्यासिफिक क्षेत्रमा रणनीतिक चासो र सुरक्षा सहकार्य तीव्र हुँदै गएको पृष्ठभूमिमा भारतले आगामी मे २६ मा क्वाड्रिलेट्रल सेक्युरिटी डाइलग (क्वाड) अन्तर्गतका विदेश मन्त्रीहरूको उच्चस्तरीय बैठक आयोजना गर्ने भएको छ । उक्त बैठकलाई इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा, विकास र बहुपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रमुख कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।

भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी तथा संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो मे २६, २०२६ मा नयाँदिल्ली आइपुग्ने कार्यक्रम तय भएको छ । यो भ्रमणलाई इन्डो-प्यासिफिक क्षेत्रमा रणनीतिक साझेदारीलाई संस्थागत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
बैठक बहुपक्षीय संवादमा सीमित नरही द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका लागि पनि केन्द्रविन्दु बन्नेछ । भ्रमणमा सहभागी मन्त्रीहरूले भारतका विदेशमन्त्री एस जयशङ्करसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै उनीहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गर्ने अपेक्षा गरिएको छ, जसले कूटनीतिक छलफललाई थप राजनीतिक महत्त्व दिनेछ ।
यसअघि जुलाई १, २०२५ मा वासिङ्टनमा भएको अन्तिम क्वाड बैठकले तय गरेको कार्यढाँचामा आधारित रहेर नयाँदिल्ली बैठक अगाडि बढाइनेछ । उक्त छलफलमा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको अवधारणा, समुद्री सुरक्षा, नेभिगेसनको स्वतन्त्रता तथा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रति प्रतिबद्धता जस्ता विषयहरूमा विशेष जोड दिइने अपेक्षा गरिएको छ ।
त्यसैगरी महत्त्वपूर्ण प्रविधि, जलवायु परिवर्तनसँग जुध्ने क्षमता विकास, पूर्वाधार विस्तार तथा आपूर्ति सञ्जाल मजबुतीकरण जस्ता विकासमुखी एजेन्डाहरूको प्रगति समीक्षा गर्ने विषय पनि छलफलको केन्द्रमा रहनेछ । यसका साथै इन्डो-प्यासिफिक क्षेत्रमा देखिँदै आएका नयाँ सुरक्षा चुनौतीहरू र विश्वव्यापी भू-राजनीतिक घटनाक्रमबारे विचार आदानप्रदान गर्ने योजना रहेको छ ।
क्वाडका चारै देशले हालको क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै सहकार्यलाई अझ व्यावहारिक र परिणाममुखी बनाउने लक्ष्य लिएका छन् । ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिक’ अवधारणालाई संस्थागत गर्ने दिशामा यो बैठकलाई निर्णायक चरणका रूपमा विश्लेषण गरिएको छ ।
अमेरिकी विदेश मन्त्रीमार्को रुबियोले हालै वासिङ्टनमा दिएको अभिव्यक्तिमा भारतसँग ऊर्जा सहकार्य विस्तारका विषयमा सक्रिय छलफल भइरहेको उल्लेख गर्दै रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उनले भारतलाई ‘महत्त्वपूर्ण साझेदार’ भन्दै द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउने अपेक्षा व्यक्त गरे ।
रुबियोले क्वाड बैठकलाई उच्च महत्त्व दिँदै यसलाई दुई ठूला लोकतान्त्रिक शक्ति समूहबीचको संस्थागत संवादको निरन्तरता भएको बताएका छन् । उनले विदेशमन्त्रीका रूपमा आफ्नो पहिलो बैठक पनि क्वाडसँगै भएको स्मरण गर्दै यस पटकको नयाँदिल्ली बैठक विशेष महत्त्वको हुने उल्लेख गरे । साथै यस वर्षभित्र फेरि अर्को चरणको बैठक हुने सम्भावना रहेको उनले बताएका छन् ।














