Logo
Logo

अमेरिका-इरानबीच युद्धविराम अवधि ६० दिन थप्ने सहमति


567
Shares

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धविराम ६० दिन थप गर्ने सहमति भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले दुई देशबीच युद्धविराम अवधी थप ६० दिन लम्ब्याउन सहमति भएको उल्लेख गरेको छ ।

यो अवधिमा विश्वभर ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिएको हर्मुज जलमार्गमा जहाजहरुको आवतजावत सहज बनाउने सहमति भएको पनि रोयटर्सले लेखेको छ ।

युद्धविराम अवधि थपिएको ६० दिनमा अमेरिका र इरानले आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता जारी राख्दै निष्कर्षमा पुग्ने भनिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार वासिङ्टनमा पत्रकारहरूसँगको कुराकानी गर्दै सम्झौता अत्यन्त नजिक पुगेको बताएका छन् । इरानको अर्धसरकारी समाचार संस्था तस्निमले भने सम्झौताको मस्यौदा अझै अन्तिम रूप नपाएको र पुष्टि नगरिएको जनाएको छ ।

प्रस्तावित सहमतिअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाउने तथा हर्मुज जलमार्गमा अवरोधरहित ढुवानी सुनिश्चित गर्ने उल्लेख छ ।

विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ ।

हर्मुज जलडमरूमध्यमा जहाज आवतजावतसम्बन्धी प्रतिबन्ध हटाउने विषयमा सहमति भएको खबर सार्वजनिक भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै अन्तिम स्वीकृति नदिएको र इरानले पनि सम्झौता अन्तिम रूप नलिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्