काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले सरकारले रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन् । शनिवार नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको २४ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यले लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रलाई फस्टाउने अवसर दिनुपर्ने बताएका हुन् ।

“रोजगारीका सम्भावनाहरू पहिचान गरी प्रोत्साहन गर्नु राज्यको प्रमुख दायित्व हो,” उनले भने । नेपालले सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न स्पष्ट रणनीति लिन नसकेको आरोप लगाए । स्वदेशी उद्योग फस्टाउन नसक्दा युवाहरू वैदेशिक रोजगारीमा पलायन हुन बाध्य भएको उनको भनाइ छ । उनले औषधि उद्योग संकटग्रस्त रहेको उल्लेख गर्दै करिब १५० भन्दा बढी औषधि कारखाना बन्द हुने अवस्थामा पुगेको बताए । सिमेन्ट उद्योगलगायत अन्य उत्पादनमूलक क्षेत्र पनि सङ्कटमा रहेको उनले औंल्याए । कृषि, जलविद्युत् र खनिज स्रोतको विकासलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिँदै उनले प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकारलाई आग्रह गरे ।
अवैध व्यापार नियन्त्रण गर्दै वैध व्यवसायलाई प्रोत्साहन दिनुपर्ने उनको भनाइ रहेको छ । निजी क्षेत्रका गुनासा सुन्न नियमित संवाद र नीतिगत सुधार आवश्यक रहेको बताउँदै माधव नेपालले उद्योग फस्टाउँदा रोजगारी बढ्ने, आम्दानी बढ्ने र उपभोग पनि वृद्धि हुने बताए ।














