Logo
Logo

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी


252
Shares

काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा विशेष गरी जलनको उपचार, पुनःस्थापनामा सहयोग र डायलासिस सेवाको पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्षहरु यस क्षेत्रमा सहकार्य गर्त तयार भएका हुन् ।

रणनीतिक साझेदारीअन्तर्गत, नबिल बैंकले नेपालभरि जलनका बिरामीहरुको सघन उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

दुई पक्षबीच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरुमा पनि यस्तै सुविधाहरु विस्तार गरिनेछ । यसका साथै बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाईहरु स्थापना गर्न र डायलासिस सेवाहरुलाई थप सुदृढ बनाउन पनि सहयोग गरेको हो ।

सम्झौता तीन वर्षसम्म लागू हुने बैंकले जनाएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरूसँगको साझेदारीमा स्वास्थ्य क्षेत्रमा विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।

हालै बैंकले सुदूरपश्चिम, कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा जलनका बिरामीहरूका लागि शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । जसबाट ५०० जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए । त्यसमध्ये १३० जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

बैंकले नवलपरासी सुस्ता पूर्वको प्रादेशिक अस्पताल र बर्दघाटको चिसापानी अस्पतालमा रहेका कृत्रिम अंग केन्द्रहरूलाई पनि सहयोग गर्दै आएको छ । यी केन्द्रहरूले ३०० भन्दा बढी लाभग्राहीहरूलाई निःशुल्क कृत्रिम अंग प्रदान गरिसकेका छन् ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्