काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त भएको र दुई देशबीच महत्त्वपूर्ण सम्झौता हुन लागेको दाबी गरेका छन् । बिहीबार ओभल कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले इरानसँग द्वन्द्व समाधानका लागि “बलियो समझदारी” तयार भएको बताए ।

उनले यो सम्झौताले वर्षौंदेखिको तनाव अन्त्य गर्ने दाबी गरे । ट्रम्पका अनुसार इरानले आणविक हतियार नबनाउने सर्तमा सहमति जनाएको छ । उनले भने, “हामीले आज इरानसँगको युद्ध अन्त्य गरेका छौँ । उनीहरू आणविक हतियार नराख्ने सहमतिमा पुगेका छन्, जुन हाम्रो मुख्य उद्देश्य थियो ।”
ट्रम्पले बिहीबार साँझका लागि तय गरिएका सैन्य आक्रमणहरू रद्द गरेको पनि जानकारी दिए । उनले सम्झौताको अन्तिम रूप दिन केही दिनभित्रै युरोपमा हस्ताक्षर समारोह हुन सक्ने र त्यसमा उपराष्ट्रपति जेडी भान्स सहभागी हुन सक्ने संकेत गरे । सम्झौता कार्यान्वयन भएपछि इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाइने र स्ट्रेट अफ हर्मुज खुला गरिने उनको भनाइ छ ।
तर इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले “सम्झौता भइसकेको” भन्ने कुरालाई अड्कलबाजी मात्र भएको बताए । उनले भने, “अहिलेसम्म इरानले कुनै सम्झौतामा अन्तिम निर्णय गरेको छैन । कतार र पाकिस्तानले मध्यस्थता गरिरहेका छन्, तर अमेरिकी व्यवहारले कूटनीतिक प्रक्रियालाई प्रभावित पारिरहेको छ ।” इरानले आफ्ना ‘रेड लाइन’ हरूमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
ट्रम्पको यो अचानक घोषणाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई समेत आश्चर्यमा पारेको छ । ट्रम्पसँगको टेलिफोन संवादमा नेतन्याहुले इरानको आणविक पूर्वाधार ध्वस्त पार्ने र क्षेप्यास्त्र उत्पादन रोक्ने प्रतिबद्धताको प्रशंसा गरे पनि इजरायल यो प्रारम्भिक समझदारीको पक्ष नरहेको स्पष्ट पारेका छन् । यसैबीच, युद्ध अन्त्यको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने अमेरिकी शेयर बजारमा उछाल आएको छ ।














