
काठमाडौं । संसद्मा गणितको घमण्ड र विचारको गर्जन ! दुई–तिहाइको दम्भ र सङ्ख्याको उन्मादमाथि संसद्को एउटै न्यायपूर्ण आवाज कसरी भारी पर्न सक्छ भन्ने कुराको प्रत्यक्ष प्रमाण बुधवारको प्रतिनिधिसभा बैठक बन्यो । कमजोर प्रतिपक्षी बेन्चबाट संसद्को रोस्ट्रममा उभिएका कांग्रेस नेता भीष्मराज आङ्देम्बेले गरेको सम्बोधनले सरकारलाई झस्काएन मात्र, दुई–तिहाइको शक्तिशाली जग नै हल्लाईदियो । प्रधानमन्त्री बालेनको क्याबिनेट, सभामुख डिपी अर्याल र रास्वपाको अहङ्कारमाथि आङ्देम्बेले शब्दका यस्ता धारिला वाण प्रहार गरे, जसका अगाडि सत्तापक्ष शिर निहुराउन बाध्य भयो । आङ्देम्बेले प्रधानमन्त्रीदेखि सभामुख, अर्थमन्त्री र रास्वपा सभापतिसम्मलाई संसद्को गरिमा र मर्यादाको पाठ कसरी पढाए ?
सङ्ख्याको घमण्ड र गणितको उन्मादले अन्धो बनेको सत्तालाई लोकतन्त्रमा एउटै शक्तिशाली आवाज कसरी भारी पर्न सक्छ भन्ने दृश्य बुधबार प्रतिनिधिसभामा देखियो । झन्डै दुई–तिहाइ बहुमतको कुर्सीमा बसेर संसद् र प्रतिपक्ष दुवैलाई कुल्चिन खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार, प्रधानमन्त्री बालेन शाहको क्याबिनेट, सभामुख डीपी अर्याल र सत्तारूढ दलका सभापति रवि लामिछानेलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले रोष्ट्रमबाटै कडा राजनीतिक झापड हानेका छन्, जसको चौतर्फी चर्चा भइरहेको छ ।
अहिले प्रतिपक्ष कमजोर मात्र छैन, विभाजित पनि छ । कांग्रेस र एमाले आफ्नै आन्तरिक किचलोमा अल्झिएका छन् भने नेकपा पर्ख र हेरको अवस्थामा छ । उता श्रम संस्कृति पार्टी र राप्रपाको संख्या र प्रभाव दुवै हिसाबले सीमित छ । यस्तो अवस्थामा प्रतिपक्षी बेन्चबाट उभिएका आङ्देम्बेले करिब ४० मिनेटको सम्बोधनका क्रममा सरकारको आलोचना मात्र गरेनन्, प्रधानमन्त्री बालेनदेखि सभामुख डीपी अर्याल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, रास्वपा सभापति रवि लामिछाने र सत्तापक्षका सांसदहरूलाई यसरी नङ्ग्याइदिए कि उनीहरूसँग लज्जाले शिर निहुराउनुबाहेक कुनै विकल्प बाँकी रहेन ।
कांग्रेसभित्रै पनि आङ्देम्बे संसदीय दलको नेता बनेपछि उनको प्रभावकारितामाथि प्रश्न उठेको थियो । तर, बुधवारको सम्बोधनले सत्ताको सातो मात्र लिएन, दुई–तिहाइको जग नै हल्लाइदियो । आङ्देम्बेको सम्बोधन सामान्य प्रतिपक्षी भाषण थिएन, त्यो त वर्तमान सरकारको कार्यशैलीविरुद्ध पेस गरिएको बहुआयामिक राजनीतिक अभियोगपत्र थियो । आङ्देम्बेको प्रहारको निशानामा सबैभन्दा बढी प्रधानमन्त्री बालेन नै परेका थिए ।
नेपालको सीमा मिचिएको विषयमा प्रधानमन्त्रीले दिएको विवादित भनाइलाई रास्वपाका सांसदहरूले संसद्मा टेबुल ठोकेर लज्जास्पद समर्थन गरेको दृश्यलाई आङ्देम्बेले इतिहासकै सबैभन्दा कालो र घिनलाग्दो टिप्पणीको संज्ञा दिए । “नेपालले कसैको भूमि मिचेको छ कि ? “ भन्दै खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको उनले बताए । सत्तापक्षका सांसदहरूलाई ‘चेतविहीन निर्जीव’को संज्ञा दिँदै उनले संसद्मा प्रश्न गर्ने क्षमताले नै आत्महत्या गरिरहेको कारुणिक दृश्य हेर्न विवश भएको भन्दै आक्रोश पोखे । संसद्का १८१ वटा हातहरूले ताली बजाएर राष्ट्रिय हितविपरीतको कुरालाई समर्थन गरेकोमा तीव्र घृणा व्यक्त गर्दै उनले प्रश्न गरे– ‘देशविरुद्ध ताली बजाएर रातमा निद्रा लाग्यो कि लागेन ? खाना खानुभयो कि भएन, म सोध्न चाहन्न। तर के रास्वपाभित्र अभिव्यक्ति स्वतन्त्रता मरेकै हो ?
बाँकी भिडियोमा














