Logo
Logo

अमेरिका इरान वार्ता : उच्चस्तरीय निगरानी समिति गठन गर्ने सहमति


189
Shares

काठमाडौं । कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको पहिलो उच्चस्तरीय वार्ता सम्पन्न भएको छ ।

वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन् ।

स्विट्जरल्यान्डको बुर्गेनस्टकस्थित लेक ल्युसर्न रिसोर्टमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको छ ।

उच्चस्तरीय निगरानी समिति गठन

वार्ताबाट अमेरिका र इरानबीचको मध्यस्थता प्रक्रियालाई राजनीतिक निर्देशन र निगरानी गर्न एक उच्च–स्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

उक्त समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन् । समितिले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेको छ ।

साथै, स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गरिएको छ ।

लेबनानद्वन्द्व रोक्न सहमत

वार्तामा क्षेत्रीय सुरक्षाको महत्त्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ । लेबनानमा सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा ‘द्वन्द्व–न्युनीकरण कक्ष’ स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन् ।

संयुक्त विज्ञप्तिअनुसार बाँकी प्राविधिक विषयहरूमा छलफल गर्न यसै साता बुर्गेनस्टक रिसोर्टमा वार्ता निरन्तर जारी रहनेछ ।

कतार र पाकिस्तानले कूटनीतिक पहलमार्फत वार्तालाई सकारात्मक दिशातर्फ अघि बढाएको भन्दै अमेरिका र इरान दुवैलाई धन्यवाद दिएका छन् । उनीहरूले शान्तिपूर्ण समाधानप्रति दुवै पक्षले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै प्रक्रियामा सहयोग पुर्‍याउने अन्य मित्रराष्ट्रहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्