Logo
Logo

आफैँले निम्त्याएको संकट


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद र समाधान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै छ । ओलीले चाहे भने, एक मिनेटमै विवाद समाधानको बाटोमा खुल्छ । तर, किन ओली विवाद समाधान गर्न चाहँदैनन् भन्ने प्रश्न छ, त्यस प्रश्नभित्र धेरै उत्तरहरु छन् । उत्तर उनी आफैँले दिएका छन् । कहिले महाधिवेशन अगाडि अध्यक्ष पद छोड्दिन भन्छन्, त कहिले चुनावअघि प्रधानमन्त्री छाड्दिन भन्छन्, त कहिले अब नेतृत्व युवापुस्तालाई दिनुपर्छ भन्छन् । यति मात्र कहाँ हो र, सचिवालय बैठकमै एकपटक प्रधानमन्त्री छोड्नु परे वामदेव गौतमलाई प्रधानमन्त्री बनाउँछु भने । त्यही बैठकमा अध्यक्ष छोड्नु परे तेस्रो वरियतामा माधव नेपाललाई अध्यक्ष बनाउँछु भने । यी सबै वाक्यको निष्कर्ष निकाल्ने हो भने ओली बोलीको ठेगान नभएको नेता हो भन्ने बुझिन्छ । उनको यिनै शब्द, शब्दले उनैलाई अहिले चिमोटिरहेको छ ।

नभए, पार्टी एकता गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आधा, आधा कार्यकाल प्रधानमन्त्री, महाधिवेशनसम्म दुई जना अध्यक्षले पार्टी सञ्चालन गर्ने भन्ने कुरामा उनी किन अड्न सकेनन् ? त्यसमाथि पाँचै वर्ष प्रधानमन्त्री बन्न प्रचण्डसँग सहमति गरेपछि अहिले आएर तिनै प्रचण्डले उनको राजीनामा माग्न किन बाध्य हुनुप¥यो ? बालुवाटारमा बसेर ठण्डा दिमागले सोच्ने हो भने विवाद समाधान गर्न न त सचिवालय बैठक बोलाउनुपर्छ, न त स्थायी कमिटीदेखि डराएर भाग्नु नै पर्छ । समस्या आफैँभित्र छ र समाधान पनि आफैँभित्र खोज्नुपर्छ भन्ने कुरा बिर्सदा नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको हो । यो कुरालाई समयमै समाधान गरिएन भने परिणाम कस्तो आउँछ भन्ने कुरा ओलीले अनुमान मात्र गर्न सक्लान्, ठ्याक्कै भन्न सक्दैनन् । किनभने, ओली र प्रचण्डबीच भएको सहमति कार्यान्वयन हुन नदिन र ओली र प्रचण्डबीच खाडल खन्न ओलीनिकट नेताहरु नै सक्रिय छन् । ती नेताहरुले भन्न त त्यो खाडल प्रचण्डलाई पुर्न खनेको भनेर ओलीलाई भ्रममा पारिरहेका छन् । वास्तवमा यो विवादले सबैभन्दा पहिला ओली नै त्यो खाल्डोमा जाकिने छन् ।

यो अवस्था आउन नदिन पार्टी एकता गर्दा भएको सहमतिबाट ओली भाग्न मिल्दैन । बरु, पार्टी एकता गर्दा प्रचण्डसँग गरेको सहमति कार्यान्वयन गर्न के कुराले बाधा पु¥यायो भन्ने कुरा प्रचण्डलाई खुला हृदयले भन्न सक्नुपर्छ । पार्टी एकता गर्दा जहाजको दुई जना पाइलट भन्ने, अहिले आएर मोटरसाइकलको एउटा पांग्रा खुस्कियो भने के हुन्छ भन्ने कुराले मोटरसाइकलको होइन, आफ्नै पांग्रा खुस्किन्छ भन्ने कुरालाई पनि मनन गर्न सक्नुपर्छ । किनभने, राजनीतिक मजाक होइन, मजाक गरेर राजनीति चल्दैन । नेकपाभित्र अहिले विवाद चुलिनुको एउटा कारण मजाक पनि हो ।

प्रतिक्रिया दिनुहोस्