Logo
Logo

शेख हसिना यसै वर्ष बङ्गलादेश फर्किँदै 


63
Shares

काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय भए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । भारतमा करिब दुई वर्षदेखि निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले भारतीय टेलिभिजन एनडीटीभीसँगको अन्तर्वार्तामा आफूलाई मृत्युदण्डको कुनै डर नभएको बताइन् ।

The current image has no alternative text. The file name is: sekha-hasina.gif

मानवताविरुद्धको अपराध मुद्दामा गत वर्ष नोभेम्बरमा ढाकाको अदालतले उनलाई मृत्युदण्ड सुनाएको थियो । बङ्गलादेश सरकारले उनलाई ‘फरार’ घोषित गरेको छ भने उनको दल अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ ।

हसिनाले फैसलालाई ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक बदला’ भनेकी छन् । उनले भनिन्, “धेरै षड्यन्त्रका बाबजुद जनताको मतबाट पाँच पटक प्रधानमन्त्री बनेर देशको अभूतपूर्व विकास गरेँ । सबै अवरोध पार गर्दै यसै वर्ष स्वदेश फर्किनेछु ।” सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि उनको १५ वर्षे शासन समाप्त भएको थियो । 

त्यसपछि उनी भारत पुगेकी थिइन् । यसबीच भारत–बङ्गलादेश सम्बन्धमा सुधार देखिएको छ । फेब्रुअरी २०२६ को निर्वाचनमा प्रधानमन्त्री तारिक रहमानको दलको जितपछि द्विपक्षीय संवाद तीव्र भएको छ । भारतले जुन २८ देखि बङ्गलादेशी नागरिकका लागि पर्यटक भिसा पुनः जारी गर्न थालेको छ । हसिनाको स्वदेश फर्किने घोषणा र सम्बन्ध सुधार दक्षिण एसियाली राजनीतिका लागि महत्त्वपूर्ण मानिएको छ । 

प्रतिक्रिया दिनुहोस्