
काठमाडौं । मधेश प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बजेट संशोधनको माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख रामअशिष यादवले अर्को सूचना नहुञ्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
बैठकको सुरुमै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोडको बजेट ल्याउने नाममा टुक्रे योजनाहरू भएको बजेट ल्याएर संघीयतामाथि झन् वितृष्णा बढाउन खोजेको आरोप लगाए । उनले बजेट संशोधन नभएसम्म प्रतिपक्षी दुबै दलले सदन चल्न नदिने अडान लिए ।
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन हुनुपर्ने वा छानविन समिति गठन गरे मात्र सदन चल्न दिने बताए ।
यसअघि बुधबार पनि बजेटमाथि छलफलको लागि बसेको बैठक दुई दलको अवरोधका कारण १० मिनेटको लागि स्थगित गरिएको थियो । पछि बैठक पुनः बस्न सकेको थिएन् ।














