Logo
Logo

खामेनीको अन्त्येष्टिमा १४ महिनाकी नातिनीको कफिन देखेपछि थामिएनन् आँसु 


126
Shares

काठमाडौं । गत फेब्रुअरी २८ मा भएको अमेरिका-इजरायली संयुक्त हवाई आक्रमणमा इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीसँगै उनकी १४ महिनाकी नातिनी जहरा मोहम्मदी गोलपायेगानीले ज्यान गुमाएकी थिइन् ।

The current image has no alternative text. The file name is: iran-1.jpg

शुक्रवार तेहरानको इमाम खोमेनी ग्रान्ड मुसल्लामा आयोजित अन्त्येष्टि समारोहमा खामेनीको पार्थिव शरीरसँगै राखिएको जहराको सानो कफिनले त्यहाँ उपस्थित लाखौँ मानिसलाई भावुक बनाएको थियो । अन्त्येष्टि प्रार्थनाका लागि जम्मा भएका हजारौँ शोककर्ताका बिच देशको झण्डामा बेरिएको ती सानी बालिकाको सानो कफिन र फ्रेम गरिएको तस्बिर देखेपछि धेरैले आँसु थाम्न सकेनन् । समारोहमा उपस्थित इरानी राष्ट्रपति मसूद पेजेशकियान, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ लगायतका उच्च अधिकारी बालिकाको कफिन नजिकै पुग्दा निकै भावुक देखिएका थिए । राष्ट्रपति पेजेशकियान भावुक हुँदै रोएका थिए भने त्यहाँ उपस्थित शीर्ष सैन्य अधिकारी पनि शोकाकुल मुद्रामा देखिन्थे ।

इरानी सञ्चारमाध्यम तस्निम समाचार एजेन्सीका अनुसार शुक्रवार साँझ मुसल्लाको ढोका खुल्ने बित्तिकै लाखौँको सङ्ख्यामा मानिस त्यहाँ भेला भएका थिए । शोकमा डुबेका नागरिकले खामेनी र उनको परिवारको हत्याको बदला लिन माग गर्दै ‘अमेरिका मुर्दावाद’ र ‘बदला!’ जस्ता चर्का नारा लगाएका थिए । जहरासहित आक्रमणमा मारिएका खामेनीका परिवारका अन्य सदस्यको कफिनलाई पनि सोही स्थानमा राखिएको छ ।

अन्त्येष्टि समारोहको आधिकारिक तालिका अनुसार शुक्रवार सुरु भएको यो प्रक्रिया छ दिनसम्म चल्नेछ । सोमबार तेहरानमा अन्त्येष्टि जुलुस निकालिनेछ भने मङ्गलवार यसलाई पवित्र सहर कोम लगिनेछ । त्यसपछि बुधवार इराकका पवित्र सहर नजफ र कर्बलामा श्रद्धाञ्जलीका लागि लगिनेछ र अन्तमा बिहीबार इरानी सहर मशहदमा खामेनीको अन्त्येष्टि गरिनेछ ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अन्त्येष्टि प्रक्रियाका क्रममा कुनै पनि पक्षले एकअर्कालाई गोली हान्ने छैन’ भन्दै समारोहपछि इरानसँग कूटनीतिक वार्ता जारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्