Logo
Logo

इरानले बन्द गरायो होर्मुज जलमार्ग


63
Shares

काठमाडौं । ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चित कालका लागि बन्द गराएको घोषणा गरेको छ । उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ ।

The current image has no alternative text. The file name is: harmoz.jpg

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ ।

सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ । जहाजले आफ्नो यात्रा अघि बढाउन नसक्ने अवस्था आएको र एक जना नागरिक चालकदल सदस्य बेपत्ता रहेको अमेरिकाको दाबी छ ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा सेन्टकमको विज्ञप्ति साझा गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्‍यो । अब त्यसको मूल्य चुकाउनुपर्नेछ ।’

यता इरानको सरकारी सञ्चारमाध्यमले आईआरजीसीले होर्मुज मार्ग अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । इरानी पक्षका अनुसार स्वीकृत मार्ग छाडेर यात्रा गरिरहेको जहाजलाई पटक–पटक चेतावनी दिँदा पनि अटेर गरेपछि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको थियो ।

आईआरजीसीले जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरी रोकिएको दाबी गरेको छ । साथै, यस विषयलाई लिएर अमेरिकाले कुनै सैन्य हस्तक्षेप गरे त्यसको ‘कडा जवाफ’ दिइने र क्षेत्रमा रहेका नयाँ अमेरिकी सैन्य आधारहरू समेत निशानामा पर्ने चेतावनी दिएको छ ।

यसअघि पनि अमेरिकी सिफारिसमा ओमानको जलक्षेत्र हुँदै यात्रा गरिरहेका तीनवटा व्यापारिक तेल ट्याङ्करमाथि आक्रमण भएको थियो । इरानले आफ्नो जलक्षेत्र हुँदै जाने मार्ग नै ‘सुरक्षित’ भएको दाबी गर्दै आएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इरानले अमेरिकी अधिकारीहरूलाई मध्यस्थकर्तामार्फत व्यापारिक ट्यांकरमाथिको आक्रमण ‘गल्तीवश’ भएको र त्यसमा आफ्नै सुरक्षा संयन्त्रभित्रको नियन्त्रणबाहिरको समूह जिम्मेवार रहेको सन्देश पठाएको छ ।

यसैबीच, अमेरिकी अधिकारीहरूले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवतजावतका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न र व्यापारिक जहाजमाथिको आक्रमण रोक्ने प्रतिबद्धता जनाउन इरानलाई आग्रह गरेको बताएका छन् ।

तनावबीच इरानका सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले नेतृत्व सम्हालेपछि पहिलो सार्वजनिक सन्देश दिएका छन् । उनका पिता तथा पूर्वसर्वोच्च नेता आयतुल्लाह अली खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमणका क्रममा मृत्यु भएको थियो । शुक्रवार उनको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको थियो ।

राज्य सञ्चारमाध्यममार्फत प्रसारित सम्बोधनमा मोज्तबा खामेनीले ‘बदला लिनु राष्ट्रको इच्छा’ भएको बताएका छन् । उनले अमेरिका र इजरायललाई संकेत गर्दै दुई युद्धमा मारिएका सबै व्यक्तिको रगतको बदला लिइने चेतावनी दिएका छन् ।

उता, अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्नुपर्ने मागसहितका नारा लगाएका थिए । त्यसको प्रतिक्रिया दिँदै ट्रम्पले आफूविरुद्ध कुनै पनि आक्रमणको प्रयास भए इरानमाथि ‘पूर्ण विनाशकारी’ जवाफ दिइने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्