काठमाडौं । शक्तिशाली आँधी ‘बावी’ले चीनको पूर्वी तटमा ल्यान्डफल गरेको छ । आँधीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसको बाटोमा पर्ने क्षेत्रबाट झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।चिनियाँ मौसम विज्ञान अधिकारीहरूका अनुसार, बावी शनिबार साँझ पहिलो पटक झेजियाङ प्रान्तको ताइझोउ सहरमा ल्यान्डफल भएको थियो । त्यसको केही घण्टापछि नै यो वेन्झोउ नजिकै दोस्रो पटक ल्यान्डफल भएको छ ।

आँधीको प्रभाव करिब एक हजार किलोमिटर क्षेत्रमा फैलिएको छ । चीन पुग्नुअघि बावीले जापानका दुर्गम टापुहरूमा असर पुर्याएको थियो भने उत्तर ताइवानमा भारी वर्षा गराएको थियो ।
यसअघि फिलिपिन्समा यसै आँधीले निम्त्याएको पहिरोमा परी कम्तीमा १७ जनाको मृत्यु भएको थियो । बावी क्रमशः कमजोर हुँदै गए पनि यसले बोकेको उच्च आर्द्रताका कारण अझै पनि भारी वर्षा र बाढीको जोखिम कायमै छ ।
चीनको मौसम विभागले आँधी उत्तरपश्चिमतर्फ सर्दै जाँदा बिस्तारै कमजोर हुने अनुमान गरेको छ । अधिकारीहरूले आइतबार झेजियाङ र फुजियान प्रान्तमा भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन् ।














