वीरेन्द्रनगर । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर–१ का वडा अध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।विद्यालयमा डिप बोरिङ प्रणालीमार्फत खानेपानीको आपूर्ति भए पनि पानी शुद्धीकरणको व्यवस्था नहुँदा विद्यार्थी र शिक्षकले सुरक्षित खानेपानी उपभोग गर्न कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा बैंकप्रति आभार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरभक्त सुनारले उपलब्ध गराइएको पानी ट्याङ्की र वाटर प्युरिफायरले विद्यार्थी तथा शिक्षकलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउन सहयोग पुग्ने तथा स्वस्थ शैक्षिक वातावरण निर्माणमा योगदान दिने विश्वास व्यक्त गरे ।
बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सामाजिक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा योगदान पुर्याउन पाएकोमा खुसी व्यक्त गरे ।
सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वसम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।














