काठमाडौं । सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधवार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ ।
दुर्घटना वा हत्या हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका-५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय छोरा मोहम्मद सादिक रहेका छन् । प्रहरीले भारतको मधुवनी खतौनी पिपराहीका वर्ष २८ वर्षीय मो। सादर नटलाई पक्राउ गरेको छ ।
बिसनपुर-बोदेबरसाईन सडक खण्डमा खटिएको प्रहरी टोलीले शङ्का लागि मोटरसाइकल पछ्याएको थियो । त्यसक्रममा बीआर-३२ बी-९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाईन नगरपालिका-२ हुँदै खडक नगरपालिका-१ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोजेका थिए । सो क्रममा एक भारतीय नागरिकलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अर्का एक जना व्यक्ति भने फरार भएका छन् । घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका९ ५ स्थित सत्रुघ्न चोकमा सञ्चालनमा रहेको सोनु मिट हाउसका कामदार रहेका प्रहरीले जनाएको छ ।














