हेटौंडा । वाग्मती प्रदेश सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिने भएका छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्त्य भएसँगै वाग्मती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्देशनपछि सरकारमा रहेका एमालेका मन्त्रीहरूले पदबाट बाहिरिने निर्णय गरेका हुन् ।
एमाले केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताए । उनले भने “मैले राजीनामाका लागि निर्देशन दिएको छु । अब राजीनामा आज बुझाउने वा भोलि उहाँहरूको कुरा हो ।”
यसअघि, बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए । तर, अन्तिम समयमा पार्टीको केन्द्रीय निर्देशन नआएकाले निर्णय रोकिएको थियो ।
त्यसपछि, केन्द्रीय तहमा भएको पछिल्लो राजनीतिक निर्णयसँगै प्रदेश सरकारबाट बाहिरिने प्रक्रिया अघि बढाइएको एमाले स्रोतले जनाएको छ ।
हाल वाग्मती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ सहभागी छन् ।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने वा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने विषय आगामी राजनीतिक छलफलले तय गर्नेछ ।














