
रवि लामिछानेले जुनसुकै बेला संसदीय दलको नेता फेर्ने विधान बनाएपछि मै हुँ भन्ने प्रधानमन्त्री बालेन पनि लुरुलुरु रवि भेट्न उनको निवास पुगे ।
रवि, बालेनबीच चार घण्टा लामो कुराकानी भएको समाचार बाहिर आयो, त्यो चार घण्टामा जे जे विषयमा कुराकानी भयो भनेर बाहिर समाचार आयो, त्यो विषय त्यति महत्वपूर्ण होइन, जति महत्वपूर्ण नाकको चालले टेकेर बालेन रवि भेट्न उनको निवास पुगे । यो त विधानकै करामत होला नि, कसो दीपक बोहराज्यू ?
अन्जनको भकभक
निजी क्षेत्रमा बालेन आतंक छ, बालेनले बोलाएको छ भन्नासाथ व्यापारीहरुको सातो पुत्लो उड्ने गरेको छ । तै पनि प्रधानमन्त्री हो के भन्छ सुनौ न भन्दै गत साता खुट्टा कमाउँदै अन्जन श्रेष्ठको टोली प्रधानमन्त्री कार्यालय पुगे ।
कालो चश्माभित्र लुकेको बालेनको नियत अन्जनले बुझ्न सकेनन्, तै पनि भकभक गर्दै निजी क्षेत्रको व्यथा बालेनलाई सुनाए । अन्जनको कुरो सुनेर बालेनले मुन्टो मात्रै हल्लाए र गल्ती नगर्ने व्यापारी सरकारसँग डराउनु नपर्ने चेतावनी बालेनले के मात्र दिएका थिए, अन्जन र अर्का एक जना उपाध्यक्षको अनुहारमा कालो बादल मडारिएको देखेर गोल्डस्टारकी विदुषी राणा ट्वाँ परिन् ।
मन्त्री आए पुर्जा आएन
सुकुमवासी समस्या बालेन सरकारलाई टोक्नु न बोक्नु भएको छ । जे गरे पनि सुख छैन । वाग्मतीको बाढीले बगाउँला भनेर कीर्तिपुर होल्डिङ सेन्टरमा पु¥याइएका सुकुमवासीहरु त्यहाँ पनि पानी पसेपछि त्यहाँका सुकुमवासीलाई खरिपाटी पु¥याइयो ।
मन्त्री हस्याङफस्याङ गर्दै सुकुमवासी भेट्न खरिपाटी पुगे । सुकुमवासीलाई चाहिएको मन्त्रीको बथान होइन, लालपुर्जा हो, त्यति कुरा पनि नबुझ्ने प्रतिभा रावलले के खाएर चारचार जना मन्त्री बोकेर खरिपाटी पुगेकी होलिन् ? रावलको कुरो नबुझेर प्रवक्ता सस्मित पोखरेल जिल्ला परेको देखेर श्रममन्त्री रामजी यादवले जिब्रो टोके ।
हरियो बत्तीको चिन्ता
कसलाई के धन्दा… भनेझैँ यता सहरमा आत्मदाहको कुराले सामाजिक सञ्जाल भरिएको छ, उता शेयरबजारका खेलाडी अम्बिका पौडेललाई हरियो बत्तीकै चिन्ता ।
उनले सामाजिक सञ्जालमा यो सरकारका प्रधानमन्त्री, मन्त्रीलाई निजी क्षेत्रले जतिपटक भेटे पनि शेयरबजार किन ओरालो लाग्छ भनेर जिज्ञासा राखे । यो कुरो त ठिकै हो, तर हरियो बत्तीको स्वीच आफैँसँग भएर पनि प्रधानमन्त्रीलाई किन हरियो बत्ती बलेन भन्दा फेरि खोरमै जाकिएला नि, कसो हेमराज ढकालज्यू ?
कसो लिली थापाज्यू ?
मानवअधिकार आयोगको प्रतिवेदन लिली थापालाई निल्नु न ओकल्नु भएको छ । भदौ २३ र २४ गतेको घटना कसरी घट्यो ? त्यसा कोको संलग्न छन् भन्ने कुरा प्रतिवेदनभित्र उल्लेख भएकै कारण आजसम्म उक्त प्रतिवेदन ‘गोप्य’ राखिएको छ । यस विषयमा संसदीय समितिमा आयोगका अध्यक्ष तपबहादुर मगरलाई एमालेकी सांसद सजिदा खातुनले ¥याख¥याती पारे ।
खातुनको प्रश्नले पसिना पसिना भएका मगरले बोल्नै सकेनन् । किनभने, त्यो प्रतिवेदनमा गृहमन्त्री सुधन गुरुङमात्रै होइन, प्रधानमन्त्री बालेनलाई पनि दोषी देखाइएको छ, त्यही भएर प्रतिवेदन लुकाइएको हो, कसो लिली थापाज्यू ?
ढुंगा बोल्ला, बालेन बोल्दैनन्
रास्वपा पनि गजबकै पार्टी छ, पार्टी सभापति बोल्याबोल्यै गर्ने, प्रधानमन्त्री ढुंगा बोल्ला, मान्छे नबोल्ने । बोले पनि उल्टोसुल्टो कुरा गरेर रविलाई संकटमा पार्ने ।
त्यही भएर होला, रविले आजभोलि नै सरकारको रक्षा गर्दै संसद्मा सम्बोधन गर्दैछन् । बालेनलाई संसद्मा कसरी प्रधानमन्त्रीले बोल्नुपर्छ भन्ने शिक्षा पनि होला । तर कतै, यो पनि भावी प्रधानमन्त्रीकै अभ्यास त होइन, कसो भूपदेवज्यू ?














