काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतामा विश्वास जगाउन नसकेको भन्दै निराशा बढ्दै गएको बताएका छन् ।शनिवार काठमाडौंमा पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् ।

उनले निराशाकै कारण केही व्यापारी र युवाहरूले आत्मदाह गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै, पूर्ण रूपमा नभए पनि सरकार यसका लागि केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरे । “दुई तिहाई नजिकको बहुमतप्राप्त सरकारले जनताको आशा र भरोसालाई निराशामा बदलिदिए नेपाल फेरि द्वन्द्वतर्फ जान सक्ने सम्भावना ठूलो छ,” घिसिङले भने, “हाम्रो चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने हो । तर, अहिलेसम्मको कार्यशैली हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिँदैन ।”
अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट वा क्षणिक लोकप्रियताका लागि नचल्ने स्पष्ट पारे । उनले भने, “देशमा आउने जुनसुकै चुनौतीको सामना गर्न उज्यालो नेपाल पार्टी तयार छ ।” यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेर ठूलो गल्ती भएको स्वीकार गर्दै अब कुनै पनि पार्टीमा विलय भएर उज्यालो नेपालको अस्तित्व मेटाउने काम नहुने उनले जोड दिए ।
उनले आगामी योजना बारे जानकारी दिँदै भने, “अहिले बर्खा याम चलिरहेको छ । वर्षा मौसमपछि देशव्यापी रूपमा तीन महिने कार्यक्रम घोषणा गरेर गाउँगाउँ पुग्छौँ । हरेक गाउँपालिकामा पुगेर जनताका समस्या बुझ्ने र सम्बोधन गर्ने हाम्रो योजना छ ।” घिसिङले अबको स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले जित हासिल गर्ने तथा सङ्घीय निर्वाचनमा जनताले उज्यालो नेपालबाहेक अन्य कुनै पार्टी नरोज्ने दाबी गरे ।














