Logo
Logo

कास्की र स्याङ्जामा रात्रिकालीन सवारी सञ्चालनमा रोक


0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम पूर्वानुमान अनुसार नेपालभर मनसुन सक्रिय भई गण्डकी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।

The current image has no alternative text. The file name is: night-bus.jpg

वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, र डुबानको जोखिमलाई मध्यनजर गर्दै कास्की र स्याङ्जा जिल्ला प्रशासन कार्यालयले जरुरी सूचना जारी गरी रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले साउन २ गते र साउन ३ गते भारी वर्षाको उच्च सम्भावना रहेको जनाउँदै विभिन्न प्रतिबन्धात्मक नियमहरू लागु गरेको छ ।

सूचना अनुसार कास्की जिल्लाबाट छुट्ने, जिल्ला भित्रिने तथा पोखराबाट ग्रामीण क्षेत्रहरूमा जाने सवारी साधनहरू साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

प्रशासनले अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन, लामो यात्रामा नजान, सुरक्षित रहन र आकस्मिक बाढी आउन सक्ने भएकाले खोल्सा, खोला तथा नदी किनारामा नजान सर्वसाधारणलाई सचेत गराएको छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पनि साउन २ र ३ गतेको अवधिमा सम्भावित विपद्जन्य जोखिमबाट नागरिकको सुरक्षा गर्न विशेष कदम चालेको छ ।

जारी सूचना अनुसार सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा अत्यावश्यक बाहेकका सवारी साधनहरू साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

राजमार्ग बाहेकका अन्य शाखा सडकहरूमा समेत सवारी साधन चलाउन पाइने छैन । स्याङ्जा प्रशासनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उक्त स्थान तत्काल छोडी सुरक्षित स्थलमा बस्न आग्रह गरेको छ ।

अत्यावश्यक अवस्थामा यात्रा गर्नै पर्ने भएमा नजिकको सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सुरक्षा निकायको निर्देशन पूर्ण पालना गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्