काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्र, बूढानीलकण्ठको अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा उनले केन्द्रबाट प्रदान भइरहेका सेवा, पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा छलफल गरेकी छन् ।
उनले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म र योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा थप प्रवर्द्धन गर्दै यसको सेवा र विशेषताबारे व्यापक रूपमा जानकारी प्रवाह गर्न आवश्यक रहेको बताइन् । मन्त्रीले केन्द्रको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणलाई थप संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि मन्त्रालयबाट आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
साथै, केन्द्र परिसरमा स्थानीय रूपमा पाइने हर्रो, बर्रो, बोजो लगायतका औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै यसका लागि आवश्यक सहजीकरण तथा सहयोग मन्त्रालयले गर्ने बताइन् ।
उनले आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई नेपालको स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंगका रूपमा थप सुदृढ गर्दै गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत उल्लेख गरेकी थिइन् ।














