Logo
Logo

बालोन डिओर जित्ने दौडमा को-को छन्, कसले जित्लान् ? -भिडियोसहित


0
Shares

काठमाडौं । विश्व फुटबलमा थुप्रै ट्रफी छन् । विश्वकप छ, च्याम्पियन्स लिग छ, घरेलु लिगका उपाधि छन् । तर एउटा यस्तो व्यक्तिगत अवार्ड यस्तो छ, जसले खेलाडीको पूरै करिअरलाई एउटा परिभाषित गरिदिन्छ । त्यो हो– बालोन डिओर । विश्वकप जिते पनि, च्याम्पियन्स लिग उचाले पनि वा गोलको वर्षा गरे पनि अन्तिममा सबैको नजर ट्रफीमा आइपुग्छ । किनभने यो केवल एउटा ट्रफी होइन, त्यो वर्ष विश्व फुटबलको ‘राजा’को घोषणा पनि हो ।

यो अवर्डा झन्डै दुई दशकसम्म लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै वरिपरी मात्रै घुम्यो । तर, अहिले त्यो युग सकिसकेको छ । फुटबलमा नयाँ पुस्ताको युग सुरु भइसकेको छ । अहिले चर्चा हुन्छ लमिन यामालको, रोड्रीको, ह्यारी केनको, किलियन एम्बाप्पेको, उस्मान डेम्बेलेको र जूड बेलिङ्घमको । अझ केही समयअघि मात्रै सकिएको विश्वकपले त पूरा समीकरण नै उल्टाइदिएको छ । केही महिनाअघि बलिया देखिएका दाबेदार पछि परेका छन् भने विश्वकपमा चम्किएका खेलाडी एकाएक बालोन डिओरको अग्रपङ्क्तिमा आइपुगेका छन् ।

तर यहाँ एउटा प्रश्न सधैं उठ्छ– आखिर बालोन डिओर जित्ने आधार के हो ? नाम चलेको भएर मात्रै पुग्दैन । धेरै गोल गरेर मात्रै पनि पुग्दैन । यो व्यक्तिगत अवार्ड भएपनि व्यक्तिगत तथ्यांकले मात्र जितिँदैन । कसले कति गोल ग¥यो ? कति असिस्ट दियो ? टोलीलाई कति ट्रफी जितायो ? ठूला खेलमा कस्तो प्रभाव छोड्यो ? विश्वकप वा च्याम्पियन्स लिगमा कस्तो प्रदर्शन ग¥यो ? भन्ने सबै कुरा जोडेर अन्तिम मूल्याङ्कन हुन्छ । त्यसैले कहिलेकाहीँ सबैभन्दा धेरै गोल गर्ने होइन, टोलीलाई जिताउने खेलाडी नै विजेता बन्छ । त्यो दुई वर्ष अघिको बालोन डिओर विजेता रोड्रीलाई नै हेरे पुग्छ ।

यसपटक विश्वकपले यही हिसाबकिताब बदलिदियो । प्रतियोगिता सुरु हुनुअघि धेरैले डेम्बेलेलाई अगाडि राखेका थिए । तर स्पेनले दोस्रो पटक विश्वकप जितेपछि कथा नै फेरियो । स्पेनका खेलाडीको बजार मूल्य मात्र बढेन, बालोन डिओरको दौडमा पनि उनीहरू सबैभन्दा बलिया दाबेदार बने ।

अहिले विभिन्न अन्तर्राष्ट्रिय विश्लेषणमा सबैभन्दा अगाडि देखिएको नाम हो– ह्यारी केन । विश्वकप ट्रफी हात नपरे पनि उनले वर्षभर देखाएको निरन्तरता असाधारण रह्यो । इंग्ल्याण्डलाई विश्वकपको सेमिफाइनलसम्म पु¥याउने क्रममा उनले ६ गोल गरे । क्लब र राष्ट्रिय टोली दुवैतर्फ गरेर उनले यो सिजन ७० गोल गरेका छन् । बायर्न म्युनिखलाई बुन्डेसलिगा जिताउन उनले मुख्य भूमिका खेले । च्याम्पियन्स लिगमा बायर्न उपविजेता बन्यो, इंग्ल्याण्ड विश्वकपमा तेस्रो भयो । ठूलो अन्तर्राष्ट्रिय ट्रफी नजिते पनि उनको व्यक्तिगत प्रदर्शन यति बलियो रह्यो कि धेरै विश्लेषकले उनलाई अहिलेको नम्बर एक दाबेदार मानेका छन् ।

तर सबैभन्दा धेरै चर्चा भने लमिन यामालकै छ । उमेर उनी भरखर १९ वर्षमा लागेका छन् । तर खेल हेर्दा अनुभवी सुपरस्टार झैँ लाग्छ । डिफेन्डरलाई सहजै छक्याउने ड्रिब्लिङ, निर्णायक पास, गोल गर्ने क्षमता र दबाबमा पनि नआत्तिने आत्मविश्वासले उनले विश्व फुटबललाई चकित पारेका छन् । विश्वकपमा उनले देखाएको परिपक्वता हेरेपछि धेरैले उनको उमेर नै बिर्सिए । त्यसैले अहिले धेरै विश्लेषकका नजरमा उनी बालोन डिओरका सबैभन्दा बलिया दाबेदारमध्ये एक बनेका छन् ।

तर यामालको बाटो त्यति सजिलो छैन । उनकै टोलीका रोड्री पनि उत्तिकै बलिया प्रतिस्पर्धी हुन् । आधुनिक फुटबलमा खेलको गति कसले नियन्त्रण गर्छ भन्ने कुरा रोड्रीले वर्षौँदेखि देखाइरहेका छन् । उनी धेरै गोल गर्दैनन्, धेरै हेडलाइन पनि बन्दैनन् । तर मैदानमा उनको प्रभाव असाधारण हुन्छ । स्पेनले विश्वकप जित्नुमा उनी नै पिलर बने । डिफेन्स र आक्रमणबीच पुल बनेर उनले खेललाई सन्तुलनमा राखे । सही समयमा पास निकाल्ने र विपक्षीको आक्रमण भत्काउने उनको क्षमता नै स्पेनको सबैभन्दा ठूलो हतियार बन्यो । त्यसलै उनले एक गोल र एक असिस्ट नगरि नै गोल्डेन बल पनि जिते ।

उता किलियन एमबाप्पेलाई पनि बाहिर राख्न मिल्दैन । तीव्र गति, गोल गर्ने कला र ठूला खेलहरूमा निर्णायक बन्ने क्षमता आज पनि उनीसँग छ । व्यक्तिगत रूपमा उनले उत्कृष्ट प्रदर्शन गरे तापनि टोलीले अपेक्षित सफलता हासिल गर्न सकेन । उनले न त देशलाई कुनै ट्रफी दिलाउन सके, न त क्लबलाई नै । ला लिगामा २५ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बने पनि उनको टोली रियल मड्रिड दोस्रो स्थानमा सीमित हुनुपर्यो । यता, विश्वकपमा पनि एमबाप्पेले १० गोल गर्दै गोल्डेन बुट त जिते, तर उनको देश फ्रान्स भने चौथो स्थानमा सीमित भयो । इतिहासले बारम्बार देखाएको छ, ठूलो ट्रफीविना बालोन डिओर जित्न निकै कठिन हुन्छ । यही कारण एमबाप्पेको दाबी केही कमजोर देखिएको छ । यता, फ्रान्सकै डेम्बेले पनि बालोन डिओरको रेसमा कायमै छन् । गत वर्षको विजेता उनले अहिले पनि च्याम्पियन्स लिग र लिग १ जिताएका छन् । तर, यति हुँदाहुँदै पनि उनी यो प्रतिष्ठित अवार्डको रेसमा अलि पछि नै छन् ।

अर्कोतिर फेरि एउटा पुरानो प्रश्न उठेको छ– के मेस्सीले फेरि यो प्रतिष्ठित अवार्ड जित्न सक्छन् ? विश्व फुटबलमा मेस्सीको नाम कहिल्यै सजिलै हराउँदैन । आठ पटक बालोन डिओर जितिसकेका उनी अहिले पनि चर्चाको केन्द्रमै छन् । ३९ वर्षको उमेरमा पनि उनले विश्वकपमा अर्जेन्टिनाका लागि ८ गोल र ४ असिस्ट गर्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलसम्म पु¥याए । तर फाइनलमा स्पेनविरुद्ध उनी निर्णायक बन्न सकेनन् । क्लब फुटबलमा इन्टर मियामीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका भए पनि युरोपबाहिरको लिगमा खेल्नुले भोटिङमा असर पार्न सक्ने विश्लेषण भइरहेको छ । त्यसैले यसपटक उनको सम्भावना अघिल्ला वर्षको जस्तो बलियो देखिँदैन ।

बालोन डिओरको चर्चा गर्दा धेरैले एउटा कुरा बिर्सिन्छन् । यसको निर्णय समर्थकले गर्दैनन्, पत्रकारले गर्छन् । त्यसैले सामाजिक सञ्जालमा को बढी भाइरल भयो भन्नेभन्दा मैदानमा कसले कस्तो प्रभाव छोड्यो भन्ने कुराले अर्थ राख्छ । यही कारण धेरै पटक समर्थकको अनुमानभन्दा फरक विजेता पनि देखिएका छन् । त्यसैले केवल धेरै गोल गर्नु वा सामाजिक सञ्जालमा चर्चित हुनु पर्याप्त हुँदैन । अन्तिम प्रश्न एउटै हुन्छ– यो वर्ष विश्व फुटबलमा सबैभन्दा ठूलो प्रभाव कसले छोड्यो ?

अहिलेको अवस्था हेर्दा ह्यारी केन र लमिन यामालतर्फ तराजु अलि बढी झुकेको देखिन्छ । तर रोड्री अझै बलियो प्रतिस्पर्धी छन् । एम्बाप्पे र अन्य स्टारहरू पनि रेसमै छन् । त्यसैले अवार्ड कसको हातमा पुग्छ भन्ने औपचारिक घोषणा हुन अझै बाँकी छ । तर यति भने निश्चित छ– यसपटकको बालोन डिओर पछिल्ला धेरै वर्षयताकै सबैभन्दा रोमाञ्चक, प्रतिस्पर्धात्मक र सम्झनलायक संस्करण बन्ने देखिएको छ ।

अब अर्को रोचक कुरा । धेरैलाई अझै पनि लाग्छ, बालोन डिओर फ्यानको भोटले तय हुन्छ । तर वास्तविकता बिल्कुलै फरक छ । यहाँ सामाजिक सञ्जालको हल्ला, अनलाइन पोल वा समर्थकको लोकप्रियताले कुनै अर्थ राख्दैन । अन्तिम फैसला फुटबल गहिरोसँग बुझ्ने सीमित निर्णायकको हातमा हुन्छ ।

मुख्य पुरुष र महिला बालोन डिओरका लागि मतदान गर्ने अधिकार फिफा विश्व वरियताका शीर्ष १०० पुरुष र शीर्ष ५० महिला राष्ट्रबाट छानिएका एक–एक जना अनुभवी खेल पत्रकारलाई मात्रै हुन्छ । राष्ट्रिय टोलीका कप्तान, मुख्य प्रशिक्षक वा लाखौँ समर्थकमध्ये कसैलाई पनि यहाँ मत हाल्ने अधिकार हुँदैन । अर्थात्, यो पूर्ण रूपमा पत्रकारको मूल्याङ्कनमा आधारित अवार्ड हो ।

तर सबै विधामा नियम एउटै छैन । कोपा ट्रफी, अर्थात् वर्षको उत्कृष्ट युवा खेलाडी छनोट गर्ने जिम्मा पत्रकारलाई दिइँदैन । यसको विजेता तय गर्ने अधिकार विगतका बालोन डिओर विजेताहरूलाई मात्र हुन्छ । मेस्सी, रोनाल्डो, रोड्रि, डेम्बेले, जिनेदिन जिदान, काका लगायत जीवित रहेका पूर्वबालोन डिओर विजेताहरूले आफ्नो अनुभवका आधारमा युवा खेलाडीलाई अंक दिन्छन् ।

यता याशिन ट्रफी अर्थात् उत्कृष्ट गोलकिपर, वर्षको उत्कृष्ट प्रशिक्षक र वर्षको उत्कृष्ट क्लब छनोट गर्ने जिम्मा फेरि खेल पत्रकारहरूकै निर्णायक मण्डललाई दिइएको हुन्छ । अर्थात् यी विधामा पनि अन्तिम निर्णय अनुभवी पत्रकारकै मूल्याङ्कनबाट आउँछ । यही कारण फुटबल समर्थकहरू प्रायः बालोन डिओर र फिफा ‘द बेस्ट’ अवार्डलाई एउटै ठान्ने गल्ती गर्छन् । तर यी दुईको मतदान प्रणाली आकाश–जमिनजत्तिकै फरक छ । बालोन डिओरमा शतप्रतिशत भोट पत्रकारको मात्रै हुन्छ । तर फिफा ‘द बेस्ट’ मा निर्णय चार पक्षले बराबरी हिस्सामा गर्छन्। राष्ट्रिय टोलीका कप्तान, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक, खेल पत्रकार र विश्वभरका समर्थकले समान २५–२५ प्रतिशत मताधिकार पाउँछन् । त्यसैले फिफा ‘द बेस्ट’मा फ्यानको लोकप्रियता पनि प्रभावशाली हुन सक्छ, तर बालोन डिओरमा भने अन्तिम निर्णय पत्रकारको कलमले गर्छ, भीडको नाराले होइन ।

अन्तिममा एउटा प्रश्न– तपाईंलाई चाहिँ यो वर्ष यो प्रतिष्ठित अवार्ड कसले जित्छ जस्तो लाग्छ ? ह्यारी केन, लमिन यामाल, रोड्री, एमबाप्पे वा अरू कोही ? आफ्नो अनुमान र कारण कमेन्ट बक्समा लेख्न सक्नु हुनेछ । ०००

प्रतिक्रिया दिनुहोस्