Logo
Logo

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न


0
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर, अभिकर्ता, एजेन्सी म्यानेजर तथा शाखाहरूको कार्यसम्पादनको सम्मान गर्दै आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम २०८३ साउन १६ गते काठमाडौंस्थित रोयल टुलिप होटल, ग्वार्कोमा सम्पन्न भएको हो ।

एक हजारभन्दा बढी सहभागीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरू सहभागी भएका थिए। सम्मान, प्रेरणा र सफलताको भावनाले भरिएको कार्यक्रमले सहभागीहरूलाई विशेष उत्साह प्रदान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा कम्पनीले आफ्नो नयाँ आई–सोलुसन प्रणाली भर्जन नेस्ट ’ सार्वजनिक गरेको थियो । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्य तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणालीको शुभारम्भ गर्दै डिजिटल रूपान्तरणतर्फ कम्पनीले नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेका थिए।

कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित भर्जन नेस्ट’ ले सेवा प्रवाहलाई अझ छरितो, सुरक्षित, प्रभावकारी तथा ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, कम्पनीले प्रविधिमैत्री र नवप्रवर्तनमुखी संस्थाको रूपमा आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको जनाएको छ।

कार्यक्रममा ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति विशेष आकर्षण बनेको थियो। ह्युमानोइड रोबोटले प्रेरणादायी तथा मनोरञ्जनात्मक शैलीमा सम्बोधन गर्दै सहभागीहरूको ध्यान आकर्षित गरेको थियो। आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यक्रमलाई थप रोचक बनाउने कम्पनीको प्रयास सहभागीहरूले सराहना गरेका थिए।

हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा कम्पनीका ब्राण्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। उनीहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन दिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत ९सीएमओ० भूषण रिमालले कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास र उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका थिए।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कारतर्फ बुटवल शाखाले प्रथम बीमा शुल्क सङ्कलनका आधारमा देशकै उत्कृष्ट शाखाको उपाधि प्राप्त गर्‍यो । भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित भए भने नितेश श्रेष्ठ प्रथम बीमा शुल्क सङ्कलनका आधारमा उत्कृष्ट सिटिजन लिडर बने । त्यसैगरी, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भए ।

साङ्गीतिक तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रौनक बनाएको थियो । सम्मान, मनोरञ्जन, प्रेरणा र आधुनिक प्रविधिको संयोजनले सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस्ता सम्मान कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्