
काठमाडौं । बुधबार एक्कसी आएको बाढीका कारण सयौँको हताहती भएपछि चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगेका छन् । उनलाई राष्ट्रपति सी चिनफिङले वरिष्ठ अधिकारीहरूको नेतृत्व सुम्पेर पठाएका हुन् ।
उनीहरूले उद्धार र राहतको निरीक्षण गर्नुका साथै प्रभावितहरूसँग भेटघाट गर्ने सरकारी समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।
राष्ट्रपति सीले बुधबार नै उद्धार तथा राहतमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री लीले पनि चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँग समन्वय गर्न भनेका थिए ।
सो क्षेत्रमा हालसम्म ३ जनाको शव फेला परेको छ भने ५५८ जना अझै बेपत्ता छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार नेपालमा पनि करिब १०० जना चिनियाँ नागरिक बेपत्ता छन् । खोजी र उद्धारका लागि नेपालसँग कुराकानी र समन्वय भइरहेको चिनियाँ पक्षले जनाएको छ ।
प्रधानमन्त्री लीका साथै १४१ जना उद्धारकर्ताहरू पनि बिहीबार मध्यान्न केरुङ आइपुगेका छन् । ड्रोनसहितका उपकरण प्रयोग गरी उनीहरू उद्धार कार्यमा खटिएका छन् ।















