काठमाडौं । नेपालको रसुवा क्षेत्रमा आएको बाढीपछि सिर्जित परिस्थितिमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ ।

दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मङ्गलवार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विपत् प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल सरकारले गरेको सहायताको आग्रहबमोजिम यो टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण निकायका अधिकारीहरू सम्मिलित उक्त टोली सैन्य यातायात विमानमार्फत मङ्गलवार नै नेपालतर्फ प्रस्थान गर्नेछ । यो टोलीले नेपालमा रहेर करिब १० दिनसम्म उद्धार तथा सहायताको काम गर्नेछ ।
गत साता आएको विनाशकारी बाढीमा परी एक जलविद्युत् आयोजनामा बेपत्ता भएका नौ जना कोरियाली कामदारको खोजबिनका लागि दक्षिण कोरियाले यसअघि नै एक द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो ।
सुरुवाती चरणमा नेपाली सेनाले लागू गरेको उडान प्रतिबन्धका कारण उक्त द्रुत टोली प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएको थियो । कोरियाली सञ्चारमाध्यमका अनुसार आवश्यक स्वीकृति पाएपछि उक्त टोलीले शनिवारदेखि शङ्कास्पद स्थलहरूमा हवाई खोज अभियान सुरु गरिसकेको छ ।














