काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् । निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पु¥याउन गम्भीर चुनौती खडा भएको हो ।

हाल रसुवाको नौकुण्ड गाउँपालिका वडा नं। ३ स्थित घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
मुख्य सडक मार्ग बाढीले बगाउँदा वैकल्पिक सडकबाट सवारीसाधन गुडिरहेका छन् । वैकल्पिक सडक यात्राका लागि असहज बनिरहेको छ । बाढी र पहिरोले कतिपय स्थानमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद गरिदिएकाले प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या उत्पन्न भएको छ । सडक अवरोध र प्रतिकूल मौसमका कारण उद्धार कार्य समेत प्रभावित बनेको छ ।














