Logo
Logo

अब एउटा पार्टी ‘ज्वाइन’ गर्छु-रञ्जिता लामा, सिईओ, एभरेष्ट फेसम होम


- दृष्टि न्युज/संवाददाता


एक सफल इभेन्ट व्यवस्थापकका रुपमा चिनिन्छिन्, रञ्जिता लामा । ‘मिस तामाङ–२००६’मा पार्टीसिपेन्ट भएपछि मोडलिङमा पाइला राखेकी रञ्जिता अभिनेत्री पनि हुन् । रञ्जिताले केही नेपालीसहित डेढ दर्जन तामाङ भाषा फिल्ममा अभिनय गरेकी छन् । पार्टीसिपेन्ट हुँदै ‘मिस तामाङ’कै आयोजक बनेकी उनी एभेरेष्ट फेसन होमकी सिईओ हुन् । हाल ‘मिस तामाङ’को १३औँ संस्करणको तयारी गरिरहेकी रञ्जिता भन्छिन्, ‘तामाङ सुमदायका युवतीको प्रतिभा प्रस्फुटन तथा तामाङ कला, भाषा, संस्कृति र संस्कारको प्रवद्र्धन र सम्वद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगितालाई निरन्तरता दिएकी हँु ।’ राजनीति माहोलमा हुर्केकी भएपनि उनलाई राजनीतिमा खासै चासो छैन । बुबा मनित लामा र दिदी नविना लामा कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । ‘म सुरुमै ग्ल्यामर्स क्षेत्रका लागेँ’ उनले भनिन्, ‘त्यसैले अब मलाई क्षेत्र ठीक छ ।’ रञ्जिता अभिनित ‘मार्मेन’ अर्थात ‘दियो’ रिलिजको अवस्था छ । यिनै इभेन्ट व्यवस्थापक तथा अभिनेत्री रञ्जिता लामासँग एमपी सुब्बाको जम्काभेट :

अहिले के गर्दै हुनुहुन्छ ?

‘मिस तामाङ–२०२१’ आयोजना गर्ने तयारी गर्दैछु । यो प्रतियोगिताको १३औँ संस्करण हो । अहिले फर्म खुला गरेकी छु ।

सरकारले इभेन्टहरु गर्नलाई खुला गरिसक्यो र ?

कोरोना महामारीका कारण झण्डै नौ महिना इभेन्टहरु गर्न प्रतिबन्ध गरिएको थियो । तर, केही खुकुलो हुन थालेको छ । त्यसैले तयारीमा जुटेकी छु । त्यतिबेलासम्ममा सामान्य अवस्था आउला नि ।

तपाइँ इभेन्ट व्यवस्थापक हो कि फिल्म अभिनेत्री ?

सुरुमा मोडल हुँ, त्यसपछि फिल्म अभिनेत्री बनेकी हुँ । अहिले त दुवैमा सक्रिय छु । मेरो प्राथमिकताचाहिँ इभेन्ट नै हो । म एभरेष्ट फेसन होमकी सिईओ हुँ । यसै कम्पनीमार्फत मिस तामाङ गर्दै आएकी छु ।

मोडलिङ गर्दागर्दै कसरी इभेन्ट आयोजक बन्नुभयो ?

‘मिस तामाङ–२००६’मा म पार्टीसिपेन्ट भएकी थिएँ । त्यो बेला टप–१० सम्म पुगेकी थिएँ । ‘मिस तामाङ’ कल्चरल प्रतियोगिता हो । तर, यो प्रतियोगिता २००७ र २००८ मा भएन । त्यसपछि तामाङ समुदायको कला, संस्कृति, भाषा र संस्कारको जर्गेना र प्रवद्र्धनका लागि भएपनि यो प्रतियोगिता गर्नुपर्छ भन्ने लागेर आफैँले लागेकी हुँ । त्यसपछि अहिलेसम्म निरन्तर ‘मिस तामाङ’ गर्दै आएकी छु ।

फिल्म पनि निकै गर्नुभयो नि ?

अहिले पनि गर्दै आएकी छु । विशेषगरी तामाङ भाषाका फिल्महरुमा अभिनय गर्दै आएकी छु । अहिलेसम्म डेढ दर्जनभन्दा बढी पुग्यो । मेरो पछिल्लो फिल्म ‘मार्मेन’ अर्थात नेपालीमा ‘दियो’ हो, जुन कोरोना महामारीका कारण रोकिएको छ । सामान्य अवस्था आउनेवित्तिकै रिलिज गर्ने सोच छ ।

फिल्ममा लगानी पनि गर्नुहुन्छ ?

पछिल्लो समय गरेकी छु । सुरुमा अभिनयमार्फत नै फिल्म आएकी हुँ । ‘मार्मेन’ रिलिज भएपछि अर्को फिल्म बनाउने सोच बनाउँदैछु । अहिले स्क्रिप्टको तयारी हुँदैछ । अब म नेपाली फिल्म नै पनि गर्न सक्छु ।

एउटा समुदायक केन्द्रित ‘मिस तामाङ’ आयोजना गरेर उपलब्धी के गर्नुभयो ?

आर्थिकरुपमा उपलब्धी नभएपनि यो प्रतियोगितामार्फत आम तामाङ समुदायको कल्चरलाई बचाइराख्ने काम गरेकी छु ।।

सौन्दर्य प्रतियोगितालाई ‘प्लेटफर्म’को रुपमा समेत लिइन्छ । अहिलेसम्मका ‘मिस तामाङ’हरु कहाँ के गर्दैछन् ?

उनीहरुले आ–आफ्नो ठाउँमा उपलब्धी गरिरहेका छन् । केही दिनअघिमात्र पूर्वमिस तामाङ सुमी मोक्तानले ‘नेपाल सुपर डान्स स्टार’ उपाधि जितेकी छु । सुमीले मिस तामाङ भएर फिल्म अभिनेत्री बनेकी हुन् । यस्ता धेरै पुर्वमिस तामाङहरु यहीबाट करिअर निर्माण गरेका छन् ।

तपाइँको व्यक्तिगत उपलब्धीचाहिँ के हो ?

मिस तामाङ आयोजक भएपछि मैले इन्टरनेशनल इभेन्टहरुको सभागिता जनाउने अवसर पाएकी छु । इन्टरनेशनल ब्युटि प्याजेन्टमा नेपालको प्रतिनिधित्व गरेर युरोपको टर्की, बुल्गेरिया, नेदरल्याण्ड गएकी छु । अर्काको देशमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय झण्डा फहराउन पाउँदा छुट्टै किसिमको खुसी र गर्व लाग्ने रहेछ । मेरो उपलब्धी भनेको यही हो ।

तपाइँको राजनीतिप्रतिको आस्था के हो ?

मेरो बुबा, फुपु र दिदी नविना लामा कम्युनिष्ट राजनीतिमा हुनुहुन्छ । एक किसिमले भन्ने हो भने मेरो परिवार नै कम्युनिष्ट । तर, मलाई सक्रिय राजनीतिमा इच्छा छैन । हरेक मान्छेले राजनीति बुझ्न जरुरी छ । तर, गर्नैपर्छ भन्ने आवश्यकता छैन । तर, अबचाहिँ एउटा पार्टी ‘ज्वाइन’ गर्छु होला । त्यो कुन पार्टी भन्ने सदस्यता पाएपछि भनौँला ।

प्रतिक्रिया दिनुहोस्