Logo
Logo

लेबनानमा पनि भेटियो कोरोनोको नयाँ संक्रमण, उडानहरुमाथि प्रतिबन्ध


- दृष्टि न्युज/संवाददाता


बेरुत, १२ पुस (एजेन्सी) । लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् ।
उनले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका एकजना नागरिकमा कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको जानकारी शुक्रबार दिएको बताइएको छ । गएको सोमबार जहाजबाट लेबनान आएका ती नागरिकमा यो संक्रमण भेटिएको थियो । त्यसपछि सो जहाजमा आएका सबैजना यात्रुहरुलाई सतर्क रहनका साथै अन्य सुरक्षित मापदण्डहरु अपनाउन भनिएको पनि स्वास्थ्य मन्त्री हसनले जानकारी दिएको हो । ती संक्रमित भेटिएपछि लेबनानको सरकारले बाहिरबाट आउने उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्री हसनले सो कुरा ट्वीटमा जानकारी दिएका छन् ।
केही समयअघि मात्र बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ संक्रमण अर्थात् प्रकार युरोपका विभिन्न देशमा पनि देखिएको छ ।यो संक्रमण फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रान्सेली पुरुषमा उक्त भाइरस पाइएको छ ।
उनलाई उनकै घरमा आइसोलेसनमा राखिएको र अहिलेसम्म उनमा कुनै लक्षण भने नदेखिएको बताएको छ ।सो नयाँ संक्रमणको घटनापछि फ्रान्सले पनि गएको बुधवारदेखि नै बेलायतसँगको आवतजावतमा प्रतिबन्ध लगाउने बारेमा नीति बनाएको थियो ।
यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो । नयाँ प्रकारको भाइरस थप संक्रामक भएको भन्ने विवरणहरु आइरहेका छन् ।यसपछि विश्वका थुप्रै देशहरुले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन् । नयाँ प्रकारको भाइरसको संक्रमण रोक्न बेलायतमा पनि अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्