काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेपछि काठमाडौंले ब्याटिङ गरिरहेको हो ।

लुम्बिनीले आजको खेल जितेमा दुई खेल अगावै प्लेअफमा पुग्नेछ । लुम्बिनीले एनपीएलका तीन खेलमा जित र एक खेलमा अङ्क बाँड्दै सात अङ्कसहित शीर्ष स्थानमा छ ।
पाँचौँ खेल खेल्न लागेको काठमाडौंले भने दुई खेलमा जित र दुई खेलमा हार भोग्दै चार अङ्कसहित चौथो स्थानमा छ । काठमाडौंले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । देव शाहको स्थानमा आदिल आलम आएका छन् ।
अघिल्ला दुई संस्करणको लिग चरणमा लुम्बिनीले काठमाडौंलाई हराएको थियो । त्यस्तै, अघिल्लो सिजनको एलिमिनेटरमा पनि काठमाडौं लुम्बिनीसँग पराजित भएको थियो । लुम्बिनी पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।
आजको खेलमा काठमाडौंका खेलाडीले पिंक रिबन लगाएका छन् । स्तन क्यान्सरबारे सचेतना जगाउनका लागि काठमाडौंका खेलाडीले पिंक रिबन लगाएका हुन् ।


















