Logo
Logo

पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुङ्ग्याउन प्रधानमन्त्रीलाई कुलमानको सुझाव


0
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुङ्ग्याउन सरकारलाई सुझाव दिएका छन् ।

The current image has no alternative text. The file name is: kulman.jpg

शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर आयोजना कार्यान्वयन, टनकपुर ब्यारेजबाट सिँचाइका लागि पानी छाड्ने, विद्युत् व्यापारको बजार पहुँच विस्तार गर्ने र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको स्वीकृति प्राप्त गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । घिसिङले महाकाली सन्धि भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर आयोजना कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक विषय टुङ्ग्याउन प्रधानमन्त्रीलाई सुझाव दिए । पञ्चेश्वर आयोजना कार्यान्वयनले नेपाललाई दीर्घकालीन लाभ पुग्ने उनको भनाइ छ । त्यस्तै, पञ्चेश्वर सन्धिअन्तर्गत टनकपुरबाट पश्चिम नेपालका विभिन्न क्षेत्रमा सिँचाइका लागि पानी उपलब्ध गराउने विषय पनि टुङ्ग्याउनुपर्ने उनले बताए । 

उनका अनुसार करिब २८ किलोमिटर सिँचाइ नहर निर्माण भइसके पनि टनकपुर ब्यारेजबाट पानी छाडिएको छैन । आफू मन्त्री हुँदा पनि पटक–पटक यस विषयमा पहल गरेको स्मरण गर्दै घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा टनकपुरबाट पानी छाड्ने कामको उद्घाटन हुनसके सुदूरपश्चिमको कृषि तथा सिँचाइ क्षेत्रमा योगदान पुग्ने बताए । घिसिङले विद्युत् व्यापारलाई पनि भारत भ्रमणको महत्त्वपूर्ण एजेण्डा बनाउनुपर्नेमा जोड दिऊ । नेपालको विद्युत् कहिले बढी भएर खेर जाने र कहिले अपुग हुने अवस्था रहेको उल्लेख गर्दै उनले भारत र बंगलादेशको बजारमा विद्युत्को पहुँच थप सहज बनाउन आवश्यक रहेको बताए । 

 भारत, बङ्गलादेश र भुटानलगायत क्षेत्रीय बजारमा विद्युत् व्यापारका लागि विगतमा भएका प्रयासलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ । नेपालको विद्युत् व्यापार विस्तारका लागि बजार पहुँच र त्यससम्बन्धी सहमति टुङ्ग्याउनुपर्नेमा  उनले जोड दिए । 

त्यसैगरी, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि उपयोग गर्न आवश्यक हवाई रुटसम्बन्धी सहमति भारतबाट प्राप्त गर्नुपर्ने घिसिङले बताए । प्रधानमन्त्रीको भ्रमणका क्रममा उक्त सहमति प्राप्त हुन सके नेपालको हवाई क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ ।  

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा लामो समयदेखि थाती रहेका राष्ट्रिय महत्वका विषयहरू टुङ्ग्याउन हाम्रो पार्टीको सुझाव छ । पहिलो, महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर परियोजना कार्यान्वयनका लागि आवश्यक सहमति र प्रक्रिया टुङ्ग्याउनुपर्छ । दोस्रो, टनकपुरबाट पश्चिम नेपालका क्षेत्रमा सिँचाइका लागि पानी उपलब्ध गराउने विषयलाई टुङ्गोमा पु¥याई नहरमा पानी छोड्ने व्यवस्था गर्नुपर्छ। यसले सुदूरपश्चिमको कृषि क्षेत्रमा ठूलो योगदान पु¥याउनेछ । तेस्रो, भारत र बंगलादेशलगायतका बजारमा नेपालको विद्युत् व्यापारलाई सहज र व्यवस्थित बनाउन आवश्यक सहमति गर्नुपर्छ। विद्युत् व्यापार नेपालको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार हो । चौथो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) को प्रभावकारी सञ्चालनका लागि आवश्यक हवाई रुटसम्बन्धी भारतीय सहमति प्राप्त गर्नुपर्छ । यी विषयहरू लामो समयदेखि प्रतीक्षामा छन् । वर्तमान सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक बनाउँदै राष्ट्रिय हित र आर्थिक समृद्धिसँग जोडिएका यी विषय टुङ्ग्याउन पहल गरोस् भन्ने हाम्रो आग्रह छ ।’

घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणलाई लामो समयदेखि पेन्डिङमा रहेका राष्ट्रिय महत्वका विषय टुङ्ग्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000