Logo
Logo

सालको पातमा डडेलो लागेपछि रविको यस्तो स्पष्टीकरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ माघ । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा छ ‘सालको पात’ । तर, यही गीतबारे सामाजिक सञ्जालमा डडेलो लागेको छ । ‘नेपाल आइडल’ रवि ओड यही उक्त चर्चित गीत स्टेजमा गाइदिएपछि विवादले डडेलोको रुप लिएको हो ।
गायक कुलेन्द्र विश्कर्मा र विष्णु माझीले गाएको उक्त चर्चित लोकदोहोरी गीतलाई रविले हालै अष्ट्रेलियाको स्टेजमा गाएका थिए । तर, रविले उक्त गीतच त्रुटी गरेर गाएको भन्दै सम्बन्धीत कलाकारले आलोचना गरेपछि उनी विवादमा आएका हुन् । तर, उक्त गीत आफूले दर्शकको मागअनुसार ‘वाध्यतावश’ गाएको रविले बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै रविले आफ्नो प्रष्टिकरण दिएका हुन् । उनले लेखेका छन्, ‘दर्शक, श्रोतामाझ पर्फम गरिरहँदा कोही बेला यस्तो माग वा परिस्थिति आउँदोरहेछ, जहाँ आफूले तयार नगरेको वा पूरा नआउने गीतलाई गुन्गुनाइदिनुपर्ने अनुरोध आउँछ । ‘सालको पातको टपरी’ मा मलाई यस्तै बाध्यता आइलागेको हो ।’
आफूले यो गीत पूरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकहरुले धर नदिएको रविले बताएका छन् । ‘दर्शकहरुको अपार मागको अगाडि मैले जे जति आउँछ गाउनैपर्ने वाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिएँ कि यदि गल्ती भएमा क्षमाप्रार्थी छु ।’

उनले उक्त गीतलाई बंग्याउने वा अपमान गर्ने आफ्नो मनशाय नभएको र श्रद्धापूर्वक गाउने प्रयास गरेको प्रष्ट पारेका छन् । उनले अगाडि भनेका छन्, ‘दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ । त्यसको अर्थ यो होइन मेरो प्वाँख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको ।’

रविको पत्रको पूर्णपाठ यस्तो छ :

नमस्ते सबै महानुभावहरुमा !
म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छाँै, संगीतलाई निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन !
दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफु कुनै स्थापित कलाकार भैनसकेको र आफ्नै गीत नगन्य भएकोले मैलेरहामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, दर्शक श्रोताहरु माझ पर्फÞम गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, ‘सालको पातको टपरी’मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जन जनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आगाह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !

अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत ‘सालको पातको टपरी’ लाई बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट सधैँ माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु !
अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदयदेखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ, गालि गलौच र अपशब्दहरुले कतै स्थान नपाओस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधै अनुरागी रहनेछु, धन्यबाद !

अर्जिनल गीत

प्रतिक्रिया दिनुहोस्