Logo
Logo

गिरीका दुई समालोचना पुस्तक सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ माघ । कवि तथा समालोचक डा. अमर गिरीले ‘कवितामा वर्गद्वन्द्व’ र ‘साहित्य विमर्श’ नामक समालोचना विधाका दुई पुस्तक एक साथ प्रकाशनमा ल्याएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा चार वर्ष काव्य विभागको नेतृत्व सम्हालेका गिरीको ‘कवितामा वर्गद्वन्द्व’ पुस्तकमा वर्गद्वन्द्वसम्बन्धी प्रगतिवादी मान्यता, कवितामा वर्गद्वन्द्व र निष्कर्षसहितका तीन परिच्छेद छन् ।
परिच्छेद एकमा विषयप्रवेश, वर्गको शाब्दिक अर्थ र परिभाषा, वर्गका मुख्य प्रकारहरू, द्वन्द्वको अर्थ, परिभाषा र स्वरूप, वर्गद्वन्द्वको अर्थ, परिभाषा र स्वरूप, वर्गद्वन्द्वका प्रमुख कारणहरू र वर्गद्वन्द्व र मानव समाजको विकास शीर्षकमा विशद् चर्चा गरिएको छ ।
यसैगरी परिच्छेद दुईमा कविताको उत्पत्तिसम्बन्धी प्रगतिवादी मान्यता, प्रगतिवादी दृष्टिमा कविता, कविता र यथार्थ, साहित्यमा वर्गद्वन्द्व, कवितामा वर्गद्वन्द्व, अन्तर्वस्तु र रूप ः कवितामा वर्गद्वन्द्वको अभिव्यक्तिको आधार, कविताको अन्तर्वस्तुमा वर्गद्वन्द्व, कविताको रूपमा वर्गद्वन्द्व र कवितामा वर्गद्वन्द्वको अभिव्यक्तिको स्वरूप र प्रक्रियाबारे विश्लेषण गरिएको छ ।
यसैगरी ‘साहित्य विमर्श’भित्र समकालीन नेपाली कवितामा भूमण्डलीकरण, नेपाली दलित साहित्य, कोइरालाको साहित्य चिन्तन, आधुनिक नेपाली समालोचनाः समसामयिक प्रवृत्ति र चुनौती, समकालीन नेपाली साहित्यको अवस्था, प्रवृत्ति र चुनौती, सिनेमा र संस्कृति, समालोचनाको समालोचना, साहित्यमा सीमान्तीकृत समुदाय र स्तरीयताका दृष्टिले समकालीन नेपाली कविता गरी नौ वटा समालोचना समाविष्ट छन् ।
कवितामै विद्यावारिधि गरेका गिरीका यी पुस्तक कविता र साहित्य विमर्शमा अभिरुची राख्नेहरूका लागि उपलब्धिमूलक हुने देखिन्छ । दुवै पुस्तक भृकुटी एकेडेमिक पब्लिकेसन्सले छापेको हो । गिरीका यसअघि ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ’, ‘दुःसाध्य समय’, ‘शब्दहरूका बीचमा’ र ‘समय संवाद’ कविताकृतिका साथै ‘समय, समाज र संस्कृति’, ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ र ‘भूमण्डलीकरण र साहित्य’ समालोचना संग्रह प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्