Logo
Logo

नेपाल–भारत सीमा विवादले परराष्ट्रमन्त्रीस्तरीय बैठकमा प्रवेश पायाे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ ।नेपाल–भारतबीचको सीमा विवादका विषयलाई परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रवेश गराइएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार बसेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा ठोस रुपमा नेपालले उठाउन खोजेको दुईदेशबीचको सीमा विवादलाई सीमा व्यवस्थापनका रुपमा प्रवेश गराइएको हाे । सीमा समस्या समाधान गर्न दुबै देश सकारात्मक रहेको भनिएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा सीमा व्यवस्थापन लगायतका विविध आयाममा छलफल भएको उल्लेख छ । नेपालले भारतले मिचेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र सहित अन्य स्थानमा भएका सीमा समस्या बैठकमा उठाउने एजेण्डा तय गरेको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा द्विदेशीय सम्बन्धका आयामहरुका बारेमा बैठकमा चर्चा भएको उल्लेख छ ।

बैठकमा छलफल भएका विषयहरू :
–कनेक्टिभिटी, आर्थिक, व्यापार, उर्जा, पेट्रोलियम पदार्थ तथा ग्याँस, जलस्रोत, सुरक्षा, सीमा व्यवस्थापन, विकासमा सहकार्य, पर्यटन, संस्कृति, शिक्षा र क्षमता अभिवृद्धिका विषयमा छलफल ।
– कोरोना भाइरस विरुद्धको दुईदेशीय सहकार्य हुने ।
– कोरोना विरुद्धको ‘कोभिसिल्ड’ र ‘कोभ्याक्स’ खोप उत्पादनमा भारतको सफलतामा नेपालको बधाई ।
– मोतिहारी–अमलेखगञ्जसम्म ल्याइएको पेट्रोलियम पाइपलाइन ।चितवनसम्म पु¥याउने विषयमा छलफल ।
–सिलगढीबाट झापासम्म पनि पाइपलाइन विछ्याउनेबारे छलफल ।
–जयनगरदेखि कुर्था हुँदै जनकपुरसम्मको रेल सञ्चालन सम्पन्न भएकोमा दुबै पक्षको स्वागत ।
– रक्सौल–काठमाडौं रेल मार्ग निर्माणका बारेमा छलफल ।

यि बाहेक दुवै देशले सीमा वारपारका लागि सहजता प्रदान गर्नेमा जोड दिएका छन् । अहिलेसम्मको वीरगञ्ज र विराटनगरमा रहेका एकीकृत भन्सार नाका आइसीपी नेपालगञ्जमा पनि थप गर्ने तयारीलाई दुबै देशले स्वागत गरेका छन् । नेपालले संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि भारतको प्रयासलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

यस्तै, भोलि (शनिवार) नेपाल–भारतबीच कोरोना खोपमा सम्झौता गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्