Logo
Logo

‘मिस्टर एन्ड मिस रौनियार–२०२१’का लागि आवेदन खुला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । कोरोनाको संक्रमण कम भएसँगै अवार्ड तथा व्युटी पेजेन्टको चहल–पहल बढेको छ । यसैक्रममा ‘मिस्टर एन्ड मिस रौनियार–२०२१’ प्रतियोगिता पनि हुने भएको छ ।
यस प्रतियोगितामा रौनियार र गुप्ता समुदायका युवा युवतीले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । उनीहरुको उमेर १६ देखि २८ वर्षभित्र हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीहरुका लागि १७ माघसम्म फारम भरिसक्नुपर्नेछ ।
आयोजक संस्था एमी इन्टरटेन्मेन्टले काडमाडौंमा पत्रकार भेटघाट गरी प्रतियोगिताबारे जानकारी दिएको हो । संस्थाका अध्यक्ष एमी (राजन) रौनियारका अनुसार यो दोश्रो संस्करण हो । रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीको प्रतिभा प्रस्फुटन, व्यक्तित्वविकास, आत्मविश्वास अभिवृद्धिसँगै उनीहरुको सामाजिक दायरालाई विस्तार गर्नु कार्यक्रमको उद्देश्य हो ।
यस प्रतियोगिताका लागि ३ माघमा जनकपुर, १० माघमा बीरगञ्ज र १७ माघमा काठमाडौंमा अडिसन राखिएको कार्यक्रम व्यवस्थापक एनी रौनियारले बताइन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । कार्यक्रमको फाइनल फागुनको तेश्रो साता काठमाडौंमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्