Logo
Logo

मुख्यमन्त्री राईले तोडे बाचा : यस कारण चर्चामा यो विवाह !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो बाचा तोडेका छन् । २०७५ साल २५ चैतमा बिराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले प्रदेशको राजधानी र नाम जुराएपछिमात्रै बिहे गर्ने वाचा गरेका थिए । तर, अहिलेसम्म प्रदेश राजधानी विराटनगर कायम भएपनि प्रदेशको नाम जुर्न सकेको छैन । तर, आफ्नो बाचा पूरा नगरी नै उनले लगन जुराएका छन् ।


मुख्यमन्त्री राईले यही ११ माघमा मंगोल सुन्दरी ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैछन् । आफैले गरेकोे बाचा तोडेर उनी ‘मिस मंगोल नेपाल–२०१८’की विजेता शेर्पासँग धुमधाम विवाहको तयारीमा जुटेका छन् । तर, यसैबेला उनको मुख्यमन्त्री पदसमेत जोखिममा परेको छ । सत्तारुढ दल नेकपा विभाजन भएसँगै मुख्यमन्त्री राईमाथि अविश्वासको मत दर्ता भएको छ । उनीमाथि नेकपा प्रचण्ड–नेपाल समूहले अविश्वासको मत दर्ता गरेका छन् । यसैबेला राईले घजजम गर्दैछन् ।

मुख्यमन्त्री राईको विवाहको खबर बाहिरिएसँगै यतिखेर सामाजिक सञ्जालमा यसैको चर्चाको छ । मुख्यमन्त्री राईको विवाह यस कारण पनि चर्चामा छ कि उनी आफूभन्दा झण्डै २८ वर्ष कम उमेरकी ज्याङ्मुसँग विवाह गर्दैछन् । अर्को उनी प्रदेश १ का मुख्यमन्त्री हुन् । पदमा रहेकै बेला मोडलसँग विवाह गर्न लागेकाले चर्चाको विषय बनेको हो । त्यस्तै, मुख्यमन्त्री राई र ज्याङ्मुको प्रेम विवाह भएकाले पनि चर्चाको विषय बनेको हो ।

पुर्खौली घर संखुवासभाकी ज्याङ्मु शेर्पा ‘मिस मंगोल नेपाल’को ताज जितेसँगै चर्चामा आएकी हुन् । मुख्यमन्त्री राई र ज्याङ्मुबीच पहिलोपटक देखभेट पनि मिस मंगोलकै कार्यक्रममा भएको थियो । एक्शन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल’मा त्यतिखेर राई अतिथिका रुपमा सहभागी भएका थिए ।

स्रोतका अनुसार त्यो बेलामै राईले जाङ्मुको बारेमा चासो लिएका थिए । तर, दोस्रो भेटमा मात्र नजिकबाट बोल्ने अवसर पाएका थिए । जाङ्मुमा सानैदेखि प्रतिभाशाली थिइन् । आफ्नो प्रतिभाकै कारण उनले १३ वर्षकै उमेरमा ‘मिस किड क्विन नेपाल’मा भाग लिइन् । ‘मिस ई कलेज’, ‘मिस एसएलसी’लगायत विभिन्न ब्युटी प्याजेन्ट हुँदै जाङ्मुले सन् २०१८ मा ‘मिस मंगोल नेपाल’को उपाधि जित्न सफल भएकी हुन् । ज्याङ्मुले विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । हाल काठमाडौंमा बस्दै आएकी जाङ्मुका बाबु–आमा भने अमेरिकामा छन् ।
मुख्यमन्त्री राई विद्यार्थी संगठनबाट राजीनीतिमा प्रवेश गरेका हुन् । भोजपुरको दक्षिणी क्षेत्रमा आमचोक गाउँपालिका–३ मा जन्मिएका राई २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका हुन् । त्यसपछि अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बने ।

२०५४ सालमा एमाले विभाजनपछि जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने मौका पाएपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने । २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा सांसद बने । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित राई दोस्रो संविधानसभा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरेका थिए । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलोपटक सूचना तथा सञ्चारमन्त्री भएका थिए । लगातार राजनीतिमा छलाङ मार्दै आएका राई ०७४ सालसम्म आइपुग्दा प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका हुन्

प्रतिक्रिया दिनुहोस्