Logo
Logo

विपन्नलाई जस्तापाता वितरण


- दृष्टि न्युज/संवाददाता


तेह्रथुम, २५ माघ तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो । 



वडा कार्यालयले जस्तापातासँगै विपन्न परिवारलाई मिटर बक्स तथा वाइरिङ सामग्री, फर्निचर र फोटोकपी मेसिनसमेत प्रदान गरेको छ । वडा क्षेत्रका तीन परिवारलाई ११ बण्डल जस्तापाता उपलब्ध गराइएको वडाध्यक्ष आचार्यले बताउनुभयो । यस्तै गरीबीकै कारण विद्युत् जडान गर्न नसकेका चार परिवारलाई मिटरबक्ससहित वाइरिङ सामग्रीसमेत वडाले प्रदान गरेको छ । 

वडा कार्यालयले स्थानीय पाथीभरा समुहलाई २० थान प्लाष्टिक कुर्सी र विश्वनाथ मन्दिरलाई १२ थान प्लाष्टिक कुर्सीसमेत उपलब्ध गराएको छ । वडाले स्थानीय स्वास्थ्यचौकीको सेवा विस्तार गरिएसँगै थप प्रविधियुक्त काम गर्नका लागि एक थान फोटोकपी मेसिनसमेत उपलब्ध गराएको वडासचिव रामप्रसाद भट्टराईले बताउनुभयो । 

वडाले एक कार्यक्रमका बीच नगद रु ६० हजारसमेत प्रदान गरेको छ । वडा कार्यालयद्वारा आयोजित विपन्न परिवारलाई सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले सिङ्गो नगरपालिका नै विपन्न र गरीबको उत्थानको पक्षमा रहेको बताउनुभयो । 
(रासस)ः

प्रतिक्रिया दिनुहोस्