Logo
Logo

अन्तत: ह्वाइटहाउसबाट बाहिरिए ट्रम्प


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, ७ माघ । दोस्रो कार्यकालका लागि निर्वाचित भएको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: ह्वाइटहाउस छाडेका छन् । स्थानीय समयअनुसार बुधबार बिहान उनी आफ्नो निवास फ्लोरिडा सरेका हुन् ।

बिदाइ सम्बोधनका क्रममा ट्रम्पले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्ष र अमेरिकी नागरिकलाई धन्यवाद दिए ।सम्बोधनका क्रममा ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि जनतामा फर्किने संकेत समेत गरे । उनले भने, ‘कुनै न कुनै रुपमा म तपाईँहरुको बीच फर्किनेछु ।

ट्रम्पले नोभेम्बरमा भएको चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबीसहित चुनावी परिणाम अस्वीकार गर्दै आएका थिए । ट्रम्प आफ्ना उत्तराधिकारी बाइडेनलाई ह्वाइटहाउसमा स्वागत नगरी फ्लोरिडा उडेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति पद छोड्ने अन्तिम समयमा उनले ७३ जनालाई क्षमादान दिएका छन् ।

ट्रम्पले आफ्नो अन्तिम अर्थात बिदाई सम्बोधनमा आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गरेका छन् । उनले भनेका छन्, ‘हामी सधैं संसारको निम्ति आशा र गौरवको भूमि हौं र हुनुपर्छ ।’ उनले आफू जे गर्न आएको थिएँ, त्यो गरेको पनि बताए ।

राष्ट्रपति ट्रम्पले विश्वको इतिहासमा आफ्नो कार्यकालमा अमेरिकाको उत्कृष्ट अर्थव्यवस्था बनाएको दाबी गर्दै ट्रम्पले आफूले कैयौं सुधारका काम गरेको बताए । उनले भनेका छन्, ‘हाम्रा एजेण्डाहरु वामपन्थ वा दक्षिण पन्थ, रिपब्लिकन वा डेमोक्र्याटका लागि थिएनन्, देशको हितका लागि थिए । पूरै देशका लागि ।’

हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका छन्। ‘अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने ‘हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।’

चार वर्षअघि सन् २०१७ जनवरी २० मा ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रूपमा सपथ लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्