Logo
Logo

नेपाल इन्भेष्टमेण्ट बैंकले पारित गर्‍यो १८.५ प्रतिशत लाभांश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को ३४औं वार्षिक साधारण सभाले १८.५ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।बिहीबार बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा भएको साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २ अर्ब ४२ करोड रूपैयाँ थियो। बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २४ करोड रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १ खर्ब ५२ अर्बबाट वृद्धि भई १ खर्ब ६६ अर्ब रूपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १ खर्ब २७ अर्बबाट वृद्धि भई १ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् वित्तीय कारोबार गर्दै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंकले अन्तर्राष्ट्रिय प्रकाशन-युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपालले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्