Logo
Logo

कोरोनाविरुद्ध बाइडेन : अमेरिका प्रवेश गर्दा अनिवार्य परीक्षण र क्वारेन्टिन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै जो बाइडेन कोरोनाभाइरस (कोभिड-१९)विरुद्ध कडारुपमा प्रस्तुत भएका छन् । कोरोना महामारीले आक्रान्त अमेरिकामा उक्त भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयौँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति बाइडनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन् । मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने बताइएको छ । यसक्रममा १० वटा उपायहरूको घोषणा गर्दै बाइडनले महामारी नियन्त्रण गर्न महिनौँ लाग्ने तर यदि मानिसहरू एकताबद्ध भए अमेरिकाले यसलाई परास्त गर्ने बताए ।
यसअघि निर्वतमान राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोपहरू लागेका थिए । सो प्रशासनको नीतिभन्दा बेग्लै बाइडन प्रशासनले महामारीसँग जुध्न राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ । ‘यो युद्धकालीन यत्न हो’ बाइडनले भनेका छन् । उनले द्वितीय विश्वयुद्धमा भन्दा धेरै अमेरिकीहरूको ज्यान कोभिडले लिइसकेको उल्लेख गरेका छन् ।
राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशहरूलाई संसद्को अनुमोदन आवश्यक हुँदैन । तर, बाइडनले घोषणा गरेका कैयौँ उपायहरू कार्यान्वयन गर्न आवश्यक स्रोतको व्यवस्था उनले गत साता सार्वजनिक गरेको १.९ ट्रिलियन डलरको राहत प्याकेजमा राखिएको छ । सो प्याकेज पारित गर्न उनलाई सिनेट तथा प्रतिनिधिसभाको सहयोग आवश्यक पर्छ ।
उनको पछिल्लो घोषणामा अबको १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, अनि रंगशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्नुपनि रहेको छ । साथै अब अमेरिका जान चाहने अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्छ अनि त्यहाँ पुगेपछि १४ दिन स्वयम् क्वारन्टीनमा रहनुपर्छ । सबै संघीय परिसरमा मास्क तथा सामाजिक दूरी अनिवार्य गरिएको छ । त्यस्तै नियम विमानस्थल तथा कैयन् विमान, रेल तथा बसमा पनि लागु गरिनेछ ।
यस्तै, हालसम्म अमेरिकामा कोभिडका कारण चार लाख ६ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने झन्डै अढाइ करोड मानिस संक्रमित भइसकेका छन् । अमेरिकामा हाल भइरहेको खोप वितरण निकै विफल भएको भन्दै बाइडनले आफूले कार्यभार सम्हालेको १०० दिनमा १० करोड मानिसलाई खोप लगाइसक्ने योजना बनाएका छन् । उनले अघिल्लो प्रशासनको नीतिभन्दा फरक अब अमेरिका गरिब देशहरूलाई सहयोग गर्न बनाइएको अन्तर्राष्ट्रिय खोप सञ्जाल कोभ्याक्समा सामेल हुने विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएका थिए । (बिबिसी)

प्रतिक्रिया दिनुहोस्