Logo
Logo

पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको छ : योगेश भट्टराई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान मन नपरेको बताएका छन् ।

आज (शनिबार) मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रियामा भट्टराईले प्रधानमन्त्री ओलीलाई संविधान मन परेको र त्यसमा संशोधनका लागि दुईतिहाई मत मागेको बताए ।

‘संविधान संशोधनका लागि उहाँले प्रतिनिधि सभा विघटन गरेर दुईतिहाई मत माग्नुभएको छ, उहाँले भन्नुभएको छैन, किन दुईतिहाई चाहियो ?, कुन इस्युमा संविधान संशोधन गर्ने भनेर । आज संविधानमा भएका इस्युहरु उहाँलाई संविधान बनाउने क्रममै मन परेको थिएन, उहाँ ती इस्युलाई हटाउन चाहानुहुन्छ,’ भट्टराईले भने ।

उनले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताए । भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताए ।

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको भनाइ छ । प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बाटोतर्फ जाँदै गरेको उनको टिप्पणी छ ।

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको उनको भनाइ छ ।

उनले अहिले नेकपामा भएको विवाद ओली-प्रचण्ड व्यक्तिमा केन्द्रित नभइ प्रवृत्तिमा केन्द्रित रहेको बताए । उनले अब ओली र प्रचण्डले हात मिलाउँदैमा यो विवाद नसकिने दावी गरे ।

‘अहिलेको विवादलाई प्रचण्ड र केपी ओलीबीचको लडाईंका रुपमा बुझ्न थालियो भने एकदमै साँघुरो हुन्छ’, उनले भने, ‘भोलि उहाँहरुले यत्तिकै हात मिलाइदिनु भयो भने सिधिन्छ त यो मुद्दा ? ’

भट्टराईले नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढेको र संसद बिघटन नयाँ संस्कृति निर्माणको बहस भएको बताए । संसद पुनस्थापनाको विषयलाई प्रचण्ड र माधवको मुद्दाका रुपमा बुझे देशमाथि खतरा आउने उनको भनाई छ ।

नेता भट्टराईले केपी ओली समूह अराजतीतिक समूह भएको भन्दै पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्